राष्ट्र बैंकले अधिक तरलतालाई नियन्त्रणमा राख्न तीन पटकमा खिच्यो आधा खर्ब रुपैयाँ
नेपालखोज
२०८० असार १९ गते १६:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन २० अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो जारी गरेको छ । राष्ट्र बैंकले असार १९ गते मंगलबार अपरान्ह तीन बजेसम्ममा वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुबाट २० अर्ब रुपैंयाँ बराबरको अधिक तरलता रकम खिचेको हो ।
राष्ट्र बैंकका अनुसार मंगलबार जारी भएको रिर्भस रिपोको परिपक्व हुने अवधि १० दिन अर्थात यही असार २९ गते तोकिएको छ । यसअघि असार सात गते पनि सात दिने अवधिको १० अर्ब रुपैयाँको रिर्भस रिपो जारी गरेको थियो भने दोस्रो पटक असार १० गते पुन सात दिने अवधिको नै २० अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गरेको थियो ।
यसपटक अर्थात असार १९ गते पनि राष्ट्र बैंकले १० दिने अवधिको २० अर्ब रुपैयाँको रिर्भस रिपो जारी गरेको छ । यो समेत गरेर राष्ट्र बैंकले अधिकतरलतालाई नियन्त्रणमा राख्न कै लागि आधा खर्ब रुपैयाँको रिर्भस रिपो जारी गरिसकेको छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्न रिपो जारी गर्ने गरेको राष्ट्र बैंकले बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि रिभर्स रिपो जारी गर्ने गर्छ । असार १९ गते मंगलबार जारी भएको रिर्भस रिपो पनि सोही प्रकृतिको मौद्रिक उपकरण भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सम्बन्धित