पहिरो गएपछि सम्झने बुद्धसिंह मार्ग
नेपालखोज
२०८० असार १८ गते १३:५०

काठमाडौं । जब मुग्लिन–नारायणगढ सडकखण्ड र पृथ्वीराजमार्गको तनहुँखण्ड अवरुद्ध हुन्छ तब चर्चा चल्न थाल्छ बुद्धसिंह मार्गको । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा लिइएको यो मार्गको ट्र्याक खनेको करिब ३० वर्ष नाघिसक्यो । अझै पनि यसको स्तरोन्नति हुन सकेको छैन ।
मनसुनी वर्षासँगै सुक्खा पहिरो झर्दा गत बिहीबार बिहान साढे ९ बजेतिर एक घण्टा अवरुद्ध भएको उक्त सडक दिउँसो १ बजे पुनः पहिरो खस्दा करिब २८ घण्टा पूर्णरूपमा बन्द भयो र शुक्रबार साँझ ५ बजेबाट मात्र खुल्यो । अति व्यस्त रहने यो सडकखण्डको मुग्लिङनजिक पर्ने तुइन खोलाआडको पाखोबाट बुधबार रातिदेखि नै ढुंगा खस्न थालेको थियो ।
यस्तै, गत शनिबार मध्यरातदेखि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा यात्रुले सास्ती झेल्ने काम अझै रोकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलानजिकको पहिरो हटाएर आइतबार साँझ करिब ६ बजेमात्रै सडक खुल्ला गरिएको थियो । तर फेरि सोमबार बिहान सोही स्थानमा पहिरो खस्दा केही समय सडक अवरुद्ध हुन पुग्यो ।
यसरी पहिरोका कारण घण्टौंघण्टा सवारी आवगमन अवरुद्ध हुँदा यात्रुले सास्ती झेल्दै आएका छन् । अहिले पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–पोखराखण्ड विस्तारकार्य भइरहेको छ । सडक विस्तारका कारण पानी पर्नासाथ हिलाम्मे हुने र पहिरो जाँदा यो खण्ड पार गर्न पनि यात्रुले लामो समय खर्चंदै आएका छन् ।
पृथ्वी राजमार्गको वैकल्पिक सडकको रूपमा लिइएको बुद्धसिंह मार्गको समयमै स्तरोन्नति गर्न सरोकारवाला निकायले चासो नदेखाउँदा राजमार्ग अवरुद्ध हुँदा मात्रै यो मार्गको चर्चा चल्छ अनि केही काम नगरीकन सेलाइहाल्छ ।
२०४८ सालमा सदरमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँचसँग जोड्ने उद्देश्यका साथ स्थानीयकै सक्रियतामा सडकको ट्र्याक खनिएको थियो । बर्सेनि बर्खाको समयमा बुद्धसिंह ह मार्गलाई वैकल्पिक मार्गको रुपमा सम्झिए स्तरोन्नतितिर कुनै निकायको चासो छैन ।
पोखरा–डुम्रे–आँबुखैरेनी–मुग्लिङ हुँदै नारायणगढ जानुभन्दा दमौलीबाट बुद्धसिंह मार्ग हुँदै घुमाउनेघाट निस्किएर नारायणगढ पुग्न करिब २३ किलोमिटर दूरी छोटो पर्छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो दूरीका रुपमा यो मार्गलाई लिने गरिएको छ ।
बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गसँग जोड्नका लागि घुमाउनेघाटमा मोटरेबल पुलको आवश्यकता छ । तर घुमाउनेमा पुल निर्माण थालिएको करिब १० वर्षसम्म पनि पुलको आधा काम सकिएको छैन ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेघाटमा त्रिशूली नदीमाथि पुल निर्माण गर्न २०७० असार २८ गते सम्झौता भएको सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर विकेश लागेले बताए । उनका अनुसार २०७८ चैत्र ३० गतेसम्म पुल निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, पुल सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय बितिसक्दा पनि जम्मा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माणस्थलमा दुवैतर्फ दुईवटा पिल्लरको जग हाल्नेबाहेक अन्य काम हुन सकेको छैन ।
पुल निर्माणका लागि हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीसँग ९ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । हालसम्म निर्माण कम्पनीलाई २ करोड ८३ लाख रुपैयाँ भुक्तानी दिइएको कार्यालयले जनाएको छ । कम्पनीले घुमाउनेमा १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल आधुनिक ‘आर्क’ डिजाइनमा बनाउने जिम्मा लिएको छ ।
यस्तै, सदरमुकाम दमौलीबाट घुमाउनेघाटसम्मको करिब ३२ किलोमिटर दूरीको सडक सेती नदीको किनारैकिनार खनिएको छ । गत भदौ २७ गते दमौलीको बसपार्कदेखि सुडेपुलसम्मको १० किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने गरी ठेक्का लागे पनि कामले गति लिन सकेको छैन ।
सडक कालोपत्रेको काम कछुवा गतिमा भइरहेको बुद्धसिंह मार्ग उपभोक्ता समितिका संस्थापक अध्यक्ष यामबहादुर आलेले बताए । ‘अहिले मुग्लिङ–पोखरा सडकखण्ड पनि विस्तारको क्रममा छ । पहिरोका कारण सडक अवरुद्ध छन्,’ उनले भने, ‘३२ वर्षअघि ट्र्याक खनिएको बुद्धसिंह मार्गको समयमै स्तरोन्नति गरिएको भए अहिले पृथ्वी राजमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिन्थ्यो र यात्रुले पनि सास्ती झेल्नुपर्थेन ।’
झापा, धरान, बुटवल, भैरहवालगायत तराईदेखि पोखरा, पर्वत, बागलुङ, स्याङ्जा, म्याग्दीलगायतका जिल्ला पुग्न २४ किलोमिटर छोटो दूरी पर्ने यस वैकल्पिक मार्ग अझैपनि प्राथमिकतामा नपर्नु दुःखको कुरा रहेको यात्रु विनय पौडेलले बताए । उनले भने, ‘समयमै यो मार्गको स्तरोन्नति गरेको भए वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिन्थ्यो । घण्टौंसम्म मुग्लिङ–नारायणगढको जाममा बस्नु पर्दैनथ्यो ।’
बुद्धसिंह मार्गमा व्यास नगरपालिका, बन्दिपुर, आँबुखैरेनी, देवघाट र ऋषिङ गाउँपालिका गरी ५ पालिका जोडिएका छन् । यो मार्गको १० किलोमिटर सडकखण्ड ३३ महिनाभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने गरी मैनाचुली सफल जेभी काठमाडौंसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी ई. धनमाया मिश्रले जानकारी दिए । ‘सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का लगाइएको हो,’ उनले भने, ‘अहिले सडक छेउमा टेवा परखाल उठाउने, नाली बनाउनेलगायतका काम भइरहेका छन् ।’
संघबाट ७ करोड बजेट विनियोजन भए पनि यो आर्थिक वर्षका लागि बजेट अपुग हुने र थप माग गर्नुपर्ने उनको भनाइ छ । उक्त १० किलोमिटरको सडकखण्ड ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपैयाँमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।
बुद्धसिंह हमार्गको कुल ३४ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर तनहुँ हाइड्रोपावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । -INS
सम्बन्धित