जनकपुरधाम । मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा घरेलु टोली जनकपुरधाम विजयी भएको छ ।
जनकपुरधाम–१४ स्थित निर्माणाधिन रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा भएको उद्घाटन खेलमा जनकपुरले महोत्तरीलाई पराजित गरेको हो ।
महोत्तरीलाई ३२ रन अन्तरले पराजित गर्दै जनकपुरधामले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
जनकपुरले पहिलो ब्याटिङ गर्दै २० ओभरमा १ सय ४७ रन जोडेको थियो । १४८ रनको लक्ष्य पछ्याएको महोत्तरीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १५ रनमै सीमित भए ।
महोत्तरीका लागि सर्फराज अन्सारी २०, अभिषेक तिवारी १९ र विनोद सहनीले १४ रनको योगदान गरे ।
अन्य ब्याट्रहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । महोत्तरीलाई सस्तैमा समेट्नका लागि जनकपुरधाम टिमका कृष्णा कार्कीले घातक बलिंग गर्दै सर्वाधिक ३ विकेट लिन सफल भए । त्यस्तै आकाश राय, हरिशंकर साह र बिक्रम यादवले १÷१ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको जनकपुरधामले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रनको सम्मानजनक स्कोर खडा गरेको थियो । जनकपुरका लागि हिमांशु दत्त र पर्शुराम यादवले समान २८÷२८, शरद भेषवाकरले १७ रनको योगदान गरे । महोत्तरीका लागि विनोद सहनीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै नितेस यादव, अभिषेक तिवारी, रमेश सहनी र नविन यादवले १÷१ विकेट लिए । यसअघि बिहीबार नै प्रतियोगिताको उद्घाटन सत्र सम्पन्न भएको थियो ।