राजविराज । जनता समाजवादी पार्टी(जसपा) नेपालका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । स्थानीय समस्या लिएर जिल्ला प्रहरी कार्यालय पुगेका अध्यक्ष यादवलाई प्रहरी निरीक्षक नविन थापाले निर्घात कुटपिट गरेका हुन् । प्रहरी कार्यालयमा स्थानीय स्तरमा घटेको घटनाबारे बुझ्न जाँदा प्रहरी निरीक्षक थापाले यादवलाई मरणासन्न हुने गरी कुटपिट गरेको जसपा मधेश प्रदेशका मुख्य सचिव दिनेश कुमार यादवले बताए ।
आँखा र टाउकोमा गम्भीर चोट लागेका जिल्ला अध्यक्ष यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको मुख्य सचिव यादवले बताए ।
यता, घटनाको जसपा नेपाल केन्द्रले भत्र्सना गरेको छ ।
जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै प्रहरीबाटै आक्रमण र बिना कारण थुन्ने प्रयासको भत्र्सना गरेका हुन् ।
जनताको कामको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरी पुग्दा भेट्नु हुने प्रहरी निरीक्षक नविन थापाले अध्यक्ष यादवलाई गाली गलौजसहित लात र मुक्का हानेको विज्ञप्तिमा उल्लेख छ ।
जसपाले दोषी प्रहरी निरीक्षक थापालाई अविलम्व वर्खास्त गरि कानूनअनुसार कडा सजायसहित मुद्दा दायर गर्न सरकारसँग माग गरेको छ । जिल्ला अध्यक्ष यादवलाई कुटपिट गरेको विरोधमा पार्टीका स्थानीय नेताहरुले मंगलबार दिउँसो राजविराजमा टायर बालेर प्रदर्शन गरेका छन् ।