मलंगवा । सर्लाहीका सुरक्षा अधिकारीले यहाँका क्रसर उद्योगको अनुगमन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा शुक्रबार दिउँसो क्रसर उद्योगको अनुगमन एवं निरीक्षण गरिएको हो । क्रसर उद्योगलाई कानून सम्वद ढंगले संचालन गर्ने उद्देश्यले सुरक्षा अधिकारीद्वारा निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।
दर्ता नभएका उद्योग बन्द गराउने, दर्ता भएर नवीकरण नगरिएका उद्योगलाई नवीकरण गर्न लगाउने र मापदण्ड पालनामा कडाई गर्न सुरक्षा अधिकारीहरु क्रसर उद्योगको अनुगमनमा निस्किएका हुन् ।
क्रसरको अनुगमनमा प्रजिअ यादवसहित सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेललगायतको उपस्थिति रहेको थियो ।