जनकपुरधाम । आगामी बैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बारामा २६ राजनीतिक दल दर्ता भएको छ ।
उपनिर्वाचनको लागि दर्ता भएको दलको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।
उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
बारासहित तीन जिल्लाको तीन क्षेत्रमा हुन लागेको उपचुनावको लागि आउँदो सोमबार उम्मेदवारी दर्ता गराउने भएको छ ।
जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि बारा–२ बाट उम्मेदवारी दिने तयारीमा छन् । जसपा क्षेत्रीय समितिले यादवको एकल नाम सिफारिस गरेको हो । एकल नाम सिफारिस भएपछि यादवको उम्मेदवारी दिने मार्ग प्रशस्त भएको हो । यता, जनमत पार्टीले पनि उम्मेदवारी दिने तयारीमा छन् । गृहजिल्लाबाट पराजित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पनि उम्मेदवारी दिने तयारीमा छन् । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले जसपाका उम्मेदवारलाई सघाउने भएको छ । नेकपा एमाले भने हालसम्म स्पष्ट भइसकेको छैन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने तयारीमा जुटेको छ ।