मलगंवा । सर्लाहीको हरिपुरमा ५० जना टुहुरा बालबालिकालाई राहत प्रदान गरिएको छ ।
सार्वजनिक माध्यमिक विद्यालय हरिपुर ६ लक्ष्मीपुरमा हेल्पिङ ह्याण्डको सहयोगमा स्थानीय समाज विकास केन्द्र हजारविघाले सहजीकरण गरेर हरिपुर नगरपालिकाभित्र बुवाको निधन भएका ५० जना बालबालिकालाई राहत प्रदान गरेको हो । विभिन्न विद्यालयमा अध्ययनरत ४५ जना र मदरसामा अध्ययनरत ५ जना गरी ५० जना बुवाको निधन भएका हरिपुर, लक्ष्मीपुर, फरहदवा, मजुर्वा र ढापटोलका बालबालिकालाई राहत प्रदान गरिएको स्थानीय समाज विकास केन्द्र हजारबिघाले जनाएको छ ।
संस्थाका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले प्रति बालबालिका २५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, २ केजी चिनी, १ केजी नुन, २ केजी चिउरा, ५ केजी आँटा प्रदान गरिएको जानकारी दिए । पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी, मधेश प्रदेश सभाकी सदस्य विमला अन्सारी, जनता मावि फरहदवाका प्रधानाध्यापक दिनेश साह, लक्ष्मीपुर माविका प्रधानाध्यापक रामअवतार चौधरीलगायतको उपस्थितिमा बालबालिकालाई राहत प्रदान गरिएको थापाले बताए ।