कलैया । आउँदो बैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत बारा–२ बाट जनता समाजवादी पार्टी(जसपा)ले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।
बुधबार सम्पन्न जसपा क्षेत्रीय समितिको भेलाले अध्यक्ष यादवको एकल नाम सिफारिस गरेको हो ।
भेलाबाट अध्यक्ष यादवको एकल नाम सिफारिस भएको जसपाका एक नेताले जानकारी दिए ।
बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचन वैशाख १० गते हुन लागेको छ । गएको मंसिर ४ मा सम्पन्न आमचुनावमा बारा–२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भइसकेका हुन् । उनी जसपा संसदीय दलका नेता हुँदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि बाराबाटै निर्वाचित जसपाका सरोज कुमार यादव मधेश प्रदेशका मुख्यमन्त्री छन् । जसपाले बारा जिल्लालाई मुख्यमन्त्री र उपराष्ट्रपति दिइसकेको छ । मधेश प्रदेशका आठ जिल्लामा बारा जिल्ला यसपाली भाग्यमानी साबित भएको छ । प्रदेशको मुख्यमन्त्री र मुलुकको उपराष्ट्रपति जसपाले दिएर बाराबासीलाई दुई पटक हर्षित हुने अवसर दिएको छ ।