वीरगञ्ज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ रानीवास बजारमा आगलागी हुँदा ६ वटा घर–गोठ जलेर नष्ट भएको छ ।
मंगलबार बिहान स्थानीय रामप्रीत हजराको घरबाट सुरु भएको आगलागीबाट हजरासहित अन्य पाँच जना छिमेकीको घर–गोठ जलेर नष्ट भएको हो ।
वडा अध्यक्ष अरविन्द मुखियाका अनुसार हजरासहित रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको छ ।
रामप्रीत हाजराको गोठमा लाम्खुट्टे धपाउनका लागि बालिएको धुपबाट सल्केको आगोले आगलागी भएको वडा अध्यक्ष मुखियाले जानकरी दिए ।
आगोले भैंसी, मोटर साईकल, साईकल, मोटर, नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामानहरु पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।
आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।