लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाले तयार पारेको प्रधानाध्यापक व्यवस्थापन कार्य विधि–२०७९ प्रति नेकपा एमाले लालबन्दी नगर कमिटीले आपत्ति जनाएको छ ।
एमाले नगर कमिटीले सोमबार लालबन्दीका मेयर बासुदेव अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै प्रधानाध्यापक व्यवस्थापन कार्यविधिप्रति चर्को असन्तुष्टि जनाएको हो । नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन कार्यविधि तयार पारी अहिले भएका प्रधानाध्यापकहरुलाई सरुवा गर्न खोजिरहेको छ ।
यस सन्दर्भमा सोमबार एमाले लालबन्दीले नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै संघीय शिक्षा नियमावली २०५९ को पहिलो परिच्छेद १७ को नियम ९३ (२) लगायतका उपनियममा भएको व्यवस्थासँग बाझिने गरी नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन कार्य विधि ल्याएको उल्लेख गरेको छ । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन लालबन्दी नगर कमिटीले समेत शिक्षा नियमावलीअनुसार नै प्रधानाध्यापक नियुक्त हुनुपर्ने माग गर्दै आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।
एमाले नगर कमिटीका अध्यक्ष बिक्रम भण्डारीको नेतृत्वमा सोमबार नगरपालिकालाई पार्टीले समेत ज्ञापन पत्र बुझाएको हो । यदि जवरजस्ती कार्यविधि लाध्न खोजिए अदालतमै गएर आफूहरु मुद्दा हाल्ने तयारीमा रहेको एमाले लालबन्दीका एक नेताले बताए ।