लालबन्दी । सर्लाहीको इश्वरपुर नगरपालिका वडा नंं. ५ र १३ मा शितभण्डार (कोल्ड स्टोर) निर्माण हुने भएको छ ।
ईश्वरपुर नगरपालिका र हेल्भेटास नेपालबीच सहकार्य गरी शितभण्डार निर्माण गरिने भएको हो । त्यसका लागि मंगलवार ईश्वरपुर नगरपालिकाको तर्फबाट मेयर मनोजकुमार आचार्य र हेल्भेटास नेपालको तर्फबाट टोली प्रमुख हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको ईश्वरपुर नगरपालिका कार्यालयले जनाएको छ ।
शितभण्डार बनेपछि यस क्षेत्रका किसानलाई कृषि तथा फलफूलजन्य वस्तु चिस्यान गरी राख्न सहज हुने अपेक्षा गरिएको छ । नगरप्रमुख आचार्यले अहिले आफू नगरभित्र शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य क्षेत्रमा सेवा विस्तार र कृषि क्षेत्रमा किसानमैत्री काम गर्न लागिपरिरहेको बताए ।
उनका अनुसार ५ र १३ गरी दुईवटा वडामा शितभण्डार निर्माणकालागि हेल्मेटास नेपालले २० लाख रुपैयाँ रकम छुट्याइसकेको छ । संस्थाले काम हुँदै गर्दा आगामी दिनमा थप रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको मेयर आचार्यले बताए ।