लालबन्दी । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानलाई कृषि मिटर वितरण सुरु गरेको छ । गाउँपालिकाले कृषि मिटर वितरण सुरु गरेसँगै किसानको नेपाल विद्युत प्राधिकरण कार्यालय जाने झन्झट पनि हटेर गएको छ ।
गाउँपालिकामै कृषि मिटर वितरण हुन थालेपछि किसानहरू हर्षित भएका छन् । विद्युत चुहाबट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ । विद्युत् मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय र पैसा दुवै खर्च गरेर पनि हैरानी खेप्नुपर्ने बाध्यता थियो ।
गाउँपालिकाबाटै उक्त सेवा पाएपछि किसानहरु हर्षित भएका छन । गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा सोमबारदेखि किसानलाई कृषि मिटर वितरण गरिरहेको छ । चन्द्रनगर गाउँपालिकाले विद्युत चुहावट मुक्त पालिका अभियान थालेकोले कर्मचारीहरु गाउँपालिकामा आएर आवश्यक प्रकृया पुरा गरेर मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले बताए ।
कृषि मिटर आवेदन फारम भर्ने र पेश गर्ने, फारम रुजु, इस्टिमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुभ्mने, मिटरको लगत कायम गर्ने, मिटर जडान लगायतको काम गाउँपालिकामा भइसकेको हुदाँ अब प्राधिकरणले किसानको खेत खेतमै पुगेर कृषि मिटर जडान गर्ने प्रमुख यादवले बताए ।
चन्द्रनगर गापा–५ का किसान रजाउल मंसुरले आफुले झण्डै एक वर्षमा कृषि मिटर पाएको दःुखोसे पोखे । विद्युत प्राधिकरण धाउँदा धाउँदा एक वर्ष लाग्यो, कहिले यो मिलेन कहिले त्यो कागज मिलेन प्राधिकरणले भनेर फर्काउथ्यो तर अहिले भने गाउँपालिकामै किसानले कृषि मिटर पाउनु भनेको किसानको सौभाग्य भएको मंसुरले बताए ।
पहिला आफुहरु सिँचाइको अन्य विकल्प नहुँदो डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दा वर्षभरीमा १५ हजार खर्च हुने गरेको वडा नं. २ का किसान पुनित महतोले बताए । मलगंवा विद्युत प्राधिकरण धाउँदा धेरै झण्झट हुने गरेकोले पहिला मिटर नलिएको महतोले बताए । यसैगरी वडा नं. ३ बस्ने स्थानिय हरिनारायण महतोले गाउँपालिकामा दुई दिनमै मिटर लिन सफल भएको बताए ।
चालू आर्थिक वर्ष ०७९÷८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गएको पुस २९ गते सम्पन्न १२औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो ।
सोही अनुरुप विद्युत चुहावट अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिका बाटै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष महतोले बताए । ३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष महतोले बताए । सिँचाइ क्षेत्र विस्तार हुँदा सहज सिँचाइ हुने, कृषि उत्पादन बढ्ने र किसानको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले बताए ।