जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले स्वास्थ्य क्षेत्रमै संघीयताको अनूभुति भएको बताएका छन् ।
अरु क्षेत्र संघ सरकारबाट संचालित रहेको अवस्थामा तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत ल्याईदिएको स्मरण गर्दै उनले संघीयताको अनुभूति गराएको बताए । उनले भने–चौबीसै घण्टा तपाईहरुको सुखदुखमा साथ रहन्छु ।
मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालले बिहीबार जनकपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले स्वास्थ्यकर्मीहरु इश्वरको दोश्रो रुप भएको, कोरोनाकालमा स्वास्थ्यकर्मीहरुको भूमिका अविस्मरणीय भएको उल्लेख गरे ।
कोरोनाकालमा तपाईहरुकै कारण हामी सबै नागरिक जोगिएको हौं, उनले भने–कोरोना महामारीको भयावह अवस्थामा घरबाहिर निक्लिन कठिन भइरहेको बेला तपाईहरुले फ्रन्टलाइनमा काम गर्नुभएको हामीले बिर्सिन सक्दैनौ ।
उनले स्वास्थ्य क्षेत्रमा कसरी सुधार हुन सक्छ, यसबारे स्वास्थ्यकर्मीसँग सुझाव पनि मागे ।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री सुरिता कुमारी साहले स्वास्थ्य क्षेत्रमा सुधारमा सहयोगको लागि आग्रह गरिन् ।
हाम्रो कमीकमजोरी देखाउँदै जानुस्, उनले भने–तपाईहरु पनि सेवामुलक प्रतिनिधि बन्ने प्रयास गर्नुस् ।
तपाईहरुको सुझावलाई पनि आपूmहरुले आत्मसात गरेर अघि बढ्ने मन्त्री साहले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा अर्थमन्त्री संजय कुमार यादवले मधेश आन्दोलन सफल पार्न स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । स्वास्थ्य सेवा समाजको सबैभन्दा सम्मानित पेशा भएको चर्चा गर्दै आज पनि स्वास्थ्य क्षेत्रमा धेरै थोक गर्न बाँकी रहेको उनले थपे । प्रतिगमनकारी शक्तिहरु चल्मलाई रहेको चर्चा गर्दै संघीयताको सवालमा चनाखो हुनुपर्ने मन्त्री यादवले बताए ।
यस्तै, खानेपानी तथा उर्जा मन्त्री सिंहागन सा कलवारले स्वास्थ्यकर्मीहरुसित हातेमालो गर्न तयार रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न सुझाव दिदै भने–तपाईहरुको नाम र काम संधै अगाडि हुनुपर्छ ।
मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालका मधेश प्रदेश अध्यक्ष शिवशंकर यादवले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा मधेशी विश्वविद्यायलका रजिष्टार बिजय यादव, बिनोद यादव लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।