जनकपुरधाम । मधेश प्रदेश प्रहरीले एक महिनामा साढे ६ करोडभन्दा बढीको अवैध मालसामान बरामद गरेको छ ।
फागुन महिनामा प्रदेशको ८ वटै जिल्लाबाट ६ करोड ६८ लाख ३६ हजार ५३६ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
प्रहरीले यस अवधिमा किराना सामग्री १ करोड ८५ लाख ९४ हजार ९२४, विद्युतीय सामग्री ७ लाख ४५ हजार, सवारी साधन र पाटपूर्जा २ करोड ४७ लाख ३४ हजार ९३० रुपैयाँ बराबरको बरामद गरेको छ ।
यस्तै, लत्ता कपडा, फेन्सी तथा अन्य सामान २ करोड २६ लाख ४२ हजार ५३२ र चाँदी १ लाख १९ हजार १५० रुपैयाँ बराबरको बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रहरीले यसमा संलग्न ४६ जनालाई समेत नियन्त्रणमा लिएको हो ।