लालबन्दी । सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा दोहोेर्याएर मतगणना गर्दा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल एक मतले विजयी भएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सभापतिका उम्मेदवार द्वय अखिलका दाहाल र अनेरास्ववियुका सन्दिप थापाले आइतबार राति मतगणना गर्दा बराबर अर्थात् ३५० मत ल्याएपछि सोमबार दिउँसो पुनः मतगणना गरिएको थियो । दोहोर्याएर मतगणना गर्दा अखिलका दाहाल एक मत बढी ल्याइ विजयी भएका हुन् ।
दाहालले ३५० मत ल्याए भने अनेरास्ववियुका थापाले ३४९ मत प्राप्त गरे । क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले रातिको मतगणनामा टिपोट गर्नेक्रममा अनेरास्ववियुका थापाको एक मत बढी टिपोट भएको पाइएको बताए ।
चतुर्भूजेश्वरमा कूल ७११ विद्यार्थीमध्ये प्रत्यक्षतर्फ ६९९ जनाले मतदान गरेका थिए । त्यसमध्ये १२ मत बदर भएको छ ।
सभापतिमा विजयी अखिलका दाहालले नेविसङ्घ र एकीकृत समाजवादी निकट अनेरास्ववियूको समर्थनमा उम्मेदवारी दिएका थिए । क्याम्पसको स्ववियु सचिवमा भने अनेरास्ववियुका हिमाल घिमिरे १२ मतले विजयी भएका छन् । घिमिरे ३५६ मत प्राप्त गरी निर्वाचित हुुँदा संयुक्त प्यानलबाट उम्मेदवारी दिएका नेविसङ्घका दिलिपबहादुर बस्नेतले ३४४ मत मात्रै प्राप्त गरे ।
सचिवबाहेक कोषाध्यक्ष र अन्य सदस्यमा संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् ।
यस्तै, समानुपातिकतर्फ कूल ७०९ मत खसेकोमा सात मत बदर भएको छ । सदर भएको ७०२ मतमध्ये अखिल क्रान्तिकारीले ३६५ र अनेरास्ववियुले ३३७ मत प्राप्त गरेको छ ।
सर्लाहीमा यसअघि जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा नेविसङ्घ नेतृत्वको संयुक्त प्यानल र सर्लाही क्याम्पस मलङ्गवामा अनेरास्ववियु विजयी भएको छ ।