जनकपुरधाम । जनकपुरधामको बहुप्रतिष्ठित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ(नेविसंघ) का उम्मेदवार मनिष कुमार यादव विजयी भएका छन् ।
राराव स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार यादव निर्वाचित भएका हुन् ।
यादवले १ हजार १४८ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार गौतम यादव चोरवारले ३८३ मत मात्र ल्याउन सकेका छन् । उता, विद्यार्थी जनमत संघका उम्मेदवार मो. इजाज मोमिनले १६७ मत ल्याएका छन् ।
सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साहले ९२६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जितकुमार मण्डलले ८०९ मत पाएका छन् । त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार अजय सिंह कुशवाहाले ४५३ मत मात्र ल्याउन सकेका छन् ।
कोषाध्यक्षमा नेविसंघका राकेश कुमार सिंह ९९८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अजय कुमार पण्डितले ८२६ मत मात्र पाएका छन् । त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार निरज कुमार गुप्ताले ३९५ मत मात्र ल्याएका छन् ।
यस्तै सदस्यहरूमा नेविसंघका रोशनी कर्ण (१००८), सोनु झा (१००४), मुन्ना कुमार प्रधान (९९९), जितेन्द्र यादव (९८९), विकास कुमार साह (९८१), नविन कुसियैत यादव (९७८), दीपेन्द्र महतो (९७६) र अभिशेष शर्माले (९७०) मत ल्याएर निर्वाचित भएका छन् ।
स्ववियुको नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराब क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मत खसाएका थिए ।
राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए । स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना र समानुपातिकबाट १० जना निर्वाचित भएर चुनिएका छन् ।
यस्तै जनकपुरकै अर्का क्याम्पस जनकहजारीमा पाँच दलीय गठबन्धन विजयी भएको छ । जनक हजारी विद्यापीठ क्याम्पस जनकपुरधाममा पाँच दलीय गठबन्धनका उम्मेदवार सुभाष झा सभापतिमा निर्वाचित भएका छन् भने सचिवमा मीनप्रसाद पोखरेल, कोषाध्यक्षमा अमित कुमार मिश्र निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा मनिषा कुमारी कर्ण र हुकुमदेव महतो निर्वाचित भएका छन् ।