काठमाण्डौ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।
यसैगरी समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त गरेका हुन् ।
दुई कार्यकाल गरी सात वर्ष पाँच महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नो सबैसँग सौहाद्र र सहयोगात्मक सम्बन्ध रहेको जनाउँदै उनले संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमान्दारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोशिस गरेको बताए ।
उपराष्ट्रपति यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् ।
उपराष्ट्रपति धनखरले सोमबार सामाजिक सञ्जालमार्फत् ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन् । उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गरे ।
उपराष्ट्रपति यादवले सोमबार नै लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हालेको उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रविण पौडेलले जानकारी दिए ।
उका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयकोतर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए ।