काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सो जानकारी दिए । उनले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिई मुलुकको चौतर्फी विकास र समुन्नतिका लागि पार्टी सरकारमा जाने निर्णय भएको बताए ।
पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलनलाई आधार बनाउने निर्णय गरेको छ । गठबन्धन दलबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गर्ने र चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देश गर्ने निर्णय भएको प्रवक्ता डा.महतले जानकारी दिए ।
बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय यादवलाई बधाईसहित कार्यकाल सफलताको कामना दिने निर्णय गरेको छ ।