जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि ६ वटा मतदान केन्द्रमा मतदान सुरु भएको थियो ।
आइतबार बिहान वर्षा हुँदा मतदान समयमै सुरु गर्न निर्वाचन समितिलाई हम्मे भएको थियो । तथापी समयमै शुरु भएको मतदान निर्धारित समयमा सम्पन्न हुँदा २ हजार ६ सय ६२ जनाले मतदान गरेका छन् ।
विभिन्न संकायका ब्लकहरूमा सम्बन्धित सङ्कायमा अध्ययनरत रहेका विद्यार्थीहरूलाई मतदानको व्यवस्था मिलाइएको थियो ।
कूल ७ हजार २ सय मतदाता रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा २१ जना पदाधिकारी तथा सदस्यहरु निर्वाचित हुनेछन् ।
स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित अन्य पदका लागि गरेर ८८ जना विद्यार्थीले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्यार्थी सङ्घको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घको तर्फबाट मनिषकुमार यादव, ५ दलीय गठबन्धनको तर्फबाट संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले सभापति पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् ।
गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपा निकटका विद्यार्थी सङ्गठनहरू रहेका छन् ।
त्यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत सङ्घको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिषेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धामा छन् ।
राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा बाहिरी भागमा सशस्त्र प्रहरी उल्लेख्य सङ्ख्यामा परिचालन गरिएको थियो ।
त्रिभुवन विश्व विद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन अन्तर्गत मतदान भएको छ । ।
यता, रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा फर्जी कार्ड बोकेर मतदान गर्न गएका ९ जना पक्राउ परेका छन् ।
निर्वाचनमा खटेको प्रहरीले फर्जी ९ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
धाँधली गर्न खोजेको भन्दै पाँच दलीय गठबन्धनका विद्यार्थीहरु प्रदर्शन गरिरहेका छन् । पक्राउ परेकाहरुमाथि कडा कारबाही र चुनाव निष्पक्ष गराउन उनीहरुको माग छ ।
जसपा, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यो क्याम्पसको स्ववियु निर्वाचनमा तालमेल गरेका छन् ।
यता, सर्लाहीका तीनवटै क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान ८ बजे पछिबाट सुरु भएको मतदान अपरान्ह ४ बजे सम्पन्न भएको हो । जिल्लाको पुरानो सर्लाही क्याम्पस मलङ्गवामा सबैभन्दा थोरै ४५ दशमलव २३ प्रतिसत विद्यार्थीले मात्रै मतदान गरेका छन् । क्याम्पसमा कूल दुई हजार २३७ जना विद्यार्थी भर्ना भएकामध्ये एक हजार १२ जनाले मात्रै मतदान गरेका हुन् ।
यस्तै, जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा ७० दशमलव ५८ प्रतिसत विद्यार्थीले मतदान गरेका छन् । जनज्योतिमा कूल ९९६ जना विद्यार्थीमध्ये ७०३ जनाले मतदान गरेका हुन् । यहाँ ४४० जना छात्रा र २६३ जना पुरुषले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखपोखरीमा सबैभन्दा धेरै ७३ दशमलव २९ प्रतिसत विद्यार्थीले मतदान गरेका छन् । सुखेपोखरीमा ९७० जना विद्यार्थीमध्ये ७११ जना विद्यार्थीले मतदान गरेका हुन् ।
स्ववियु निर्वाचनमा क्याम्पसको स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएका विद्यार्थी मतदाता हुन्छन् । तीनवटै क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा मतदान सकिएसँगै मतपेटिकाको मुचुल्का उठाएर सर्वपक्षीय बैठक गरी मतगणना सुरु गर्ने भएको छ ।
सर्वपक्षिय बैठक सकिए लगत्तै आजै साँझबाट मतगणना सुरु हुनेछ । राति ९÷१० बजेसम्म मतगणना सकेर परिणाम घोषणा गर्ने निर्वाचन अधिकृतहरुले बताएका छन् । सर्लाहीका तीनवटा क्याम्पसमा ६० जना विद्यार्थी नेता प्रतिस्पर्धामा छन् । विद्यार्थीको चुनाव भए पनि राजनीतिक दलले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
राजविराजमा झडप
राजविराज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका क्रममा राजविराजमा विद्यार्थीहरूबीच ढुंगामुढा भएको छ । विद्यार्थी संगठनबीच झडप भएपछि महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको मतदान नै रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिन व्यापक रुपमा प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने क्रममा उक्त क्याम्पस हाता बाहिर मतदान रोक्नुपर्ने र हुनुपर्ने समूहबीच भएको नाराबाजीले झडपको रूप लिएको हो । नाराबाजी र झडपका बेला प्रहरी र विद्यार्थीहरूबीच पटक–पटक घम्साघम्सी समेत भएको छ ।