जनकपुरधाम । मधेशका साना दलहरुले मोर्चाबन्दी गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा), नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रीय सद्भावना पार्टीले ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन गरेको छ । शनिबार तमलोपा पार्टीको केन्द्रीय कार्यालयमा पाँचै दलका शिर्ष नेताहरू सहितको बैठकले मोर्चा गठन गरेको हो । बैठकमा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, नेपाल लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष सुरेशकुमार गुप्ता, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर र राष्ट्रिय सद्भावना पार्टीका महासचिव रविन्द्र प्रसाद सिंह लगायत बिभा ठाकुर, सतीश लाल दास, रविशंकर लाल(सुभाष कर्ण), उमेशकुमार मण्डल, नागेन्द्र सिंह, सरोजकुमार मिश्र लगायतका नेताहरु उपस्थित थिए ।
बैठकमा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले कार्य दलले तयार गरेको ‘लोकतान्त्रिक मधेशी मोर्चा ’को साझा अवधारणा–पत्र प्रस्तुत गरेका थिए । ‘लोकतान्त्रिक मधेशी मोर्चा’को साझा अवधारणा–पत्र २०७९ चैत १३ गते जनकपुरधाममा सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल लोकतान्त्रिक पार्टीले पार्टीभित्र छलफल गरी अन्तिम निर्णय लिन बांकी रहे पनि साझा अवधारणामा राखिएका विषयसंग आफूहरु सहमत रहेको बताएको छ ।
तमलोपाको केन्द्रीय सदस्य उमेशकुमार मणडलले यी ५ दल एकै स्थानमा आउनु मधेश मुद्दाको निमित्त सुखद खबर भएको बताए ।