बोर्डिङ स्कुल संचालकको लापरबाहीले बालबालिका औषधिबाट बञ्चित
जनकपुरधाम । हात्तीपाइले रोग विरुद्धको औषधि जनकपुरधामका हजारौ बालबालिकाले खान पाएका छैनन् ।
गएको फागुन ११ गतेदेखि जनकपुरधामसहित धनुषा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको थियो । फागुन २५ गतेसम्म ३ वर्षदेखि माथि उमेरका सबैलाई उचाइ, वजनअनुसार औषधि खुवाउनुपर्ने थियो । जनकपुरधामका बोर्डिङ स्कुलमा अध्ययनरत्त अधिकांश बालबालिका हात्तीपाइले रोगविरुद्धको औषधि खान सकेका छैनन् । विद्यालय प्रशासनले चासो नलिदा बालबालिका औषधि खानबाट बञ्चित भएका हुन् । सामुदायिक विद्यालयमा कार्यक्रम नै संचालन गरेर बालबालिकालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको थियो । तर, बोर्डिङ स्कुलका संचालकहरु बालबालिकाको स्वास्थ्यप्रति गंभिर नहुँदा उनीहरु औषधि खानबाट बञ्चित भएका हुन् ।
तोकिएको समयमा सबैलाई औषधि खुवाउन नसकिने भएपछि सरकारले पाँच दिनको समयसीमा थप गरेको थियो । थपेको समयसीमा पनि समाप्त भएको पाँच दिन भइसकेको छ । तर, मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा अभैm ३० प्रतिशत बढीले औषधि खान सकेको छैन् । तर, जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रबारसम्म १ लाख ३८३४९ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको छ ।
जनकपुरधाम उपहानगरपालिका स्वास्थ्य शाखा फोकल पर्सन विकास झाका अनुसार यहाँ दुई लाखलाई यो औषधि खुवाउने लक्ष्य लिएको छ । तर थपिएको समयसीमा पूरा भइसकेपनि ३० प्रतिशतले अभैm औषधि खान नसकेको उनले थपे । जनकपुरका अधिकांश बोर्डिङ स्कुलमा औषधि खुवाउन बाँकी रहेको उनले बताए ।
केही बोर्डिङ स्कुलले चासो लिएर बालबालिकालाई औषधि खुवाउन लगाएपनि धेरैले यसतर्पm ध्यान दिएका छैनन् । जनकपुरधाम उपमहागनरपालिकाले अभियान अघि बढाउन स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका लगायत १ सय ३० जना कर्मचारी खटाएको थियो । तोकेको समयसीमा पूरा भइसकेपनि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने झाले बताए ।
बाँकी रहेको विद्यालयहरुमा पनि औषधि खुवाइने उनले जानकारी दिए ।
मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेकोले यहाँ अभियान संचालन गरिएको हो । तर, बोर्डिङ स्कुलका बालबालिकालाई औषधि खुवाउनमा न विद्यालय प्रशासनले चासो लिएको छ, न त स्वास्थ्य शाखाले नै ।
जसका कारण जनकपुरधामका हजारौ बालबालिका हात्तीपाइले रोगविरुद्धको औषधि खानबाट बञ्चित भएका छन् । धनुषामा यो रोगको प्रकोप बढ्दै गएपछि प्रतिरोधात्मक औषधि घर–घरमा गएर खुवाइने व्यवस्था मिलाइएको थियो ।
दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनसम्मका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिलाई यो औषधि खुवाइएको थिएन् ।
आगामी चैत महिनामा घर–घरमा गएर म्यापिङ्ग गरि रोगको वास्तविक तथ्यांक संकलन गरिने तयारी जिल्ला स्वास्थ्य कार्यालयको छ । यसपाली भने वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोगविरुद्धको तीन प्रकारको औषधि खुवाइएको छ ।
यता, जनकपुरधामका अधिकांश बोर्डिङ स्कुलका बालबालिकाहरुले उक्त औषधि खाइसकेको एनप्याब्सनको दावी छ । एनप्याब्सन धनुषाका अध्यक्ष अवधेश तिवारीले जनकपुरधामका सबै बोर्डिङ स्कुलले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाएको दावी गरे । बोर्डिङ स्कुलमा अध्ययनरत्त बालबालिका भने औषधि नखाएको बताउँदै आएका छन् । जनकपुरधाममा नाम कमाएका मोनाष्टिकसहित दर्जनौ बोर्डिङ स्कुलहरुले औषधि खुवाउनमा चासो देखाएको छैन् । वार्षिक परीक्षाको तयारीमा जुटेका बोर्डिङ स्कुलका संचालकहरु रकम असुलीमा व्यस्त हुँदा बालबालिका हात्तीपाइले रोगविरुद्धको औषधि खानबाट बञ्चित भएका छन् । बोर्डिङ स्कुल संचालकहरुका कारण सरकारको यस वर्षको अभियान पनि असफल भएको छ ।
महोत्तरीमा हात्तीपाईले रोगको बिरामी फेला परेपछि धनुषामा समेत औषधि खुवाउने अभियान सञ्चालन गरिएको हो । धनुषा, महोत्तरी र सिन्धुली गरी तीन जिल्लाको इमप्लिटेसन युनिट रहेकाले महोत्तरीमा हात्तीपाइले रोग फेला परेपछि युनिट नै फेल भएको निष्कर्ष निकाल्दै पुनः अभियान चलाउन थालिएको हो ।
तोकिएको समयमा सबै जनालाई खुवाउन नसकिएपछि सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको थियो ।
बिहीवारसम्म खुवाइने भने तापनि थप ५ दिनका लागि अभियान सञ्चालन गरिने भएको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार फागुन ३० गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने समयसीमा तोकिएको थियो ।
सम्बन्धित जिल्लास्थित जिल्ला स्वास्थ्य कार्यालयले पालिकाहरुलाई हात्तीपाइले रोगविरुद्धको औषधि उपलब्ध गराएका थिए ।
यसअघि फागुन ११ गतेदेखि शुरू भएको अभियान बिहीवार फागुन २५ गतेसम्मका लागि मात्र तोकिएको थियो ।
हात्तीपाइले रोग विरुद्धको औषधि १५ जिल्लामा फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा खुवाएको थियो ।
औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइएको थियो ।
औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेका खुट्टा सुनिने, पुरुषमा अण्डकोष सुनिने तथा महिलामा स्तन सुनिने गर्दछ ।
३ प्रकारको औषधिमा अल्वेण्डाजोल, डाइइथाइल कार्बावाजिन र आइभरमेक्टिन खुवाइन्छ ।
४ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको संक्रमण नदेखिएकाले २ प्रकारको औषधि र ११ जिल्लामा समुदायस्तरमा संक्रमण देखिएकाले ३ प्रकारको औषधि खुवाउनुपरेको छ ।
सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।