लालबन्दी । आन्दोलन गर्न काठमाण्डौँसम्म पैदल हिँडेका मिटरब्याजी पीडितले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन गरेका छन् ।
पूर्वबाट पैदलहिँड्दै यहाँ आइपुगेका मिटरब्याजविरुद्ध पीडितको मार्च अभियान लालबन्दीबाट अघि बढेको हो । मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालले हिजो महोत्तरीको बर्दिवासबाट पैदलयात्रा सुरु गरेको थियो । झण्डै २ सातासम्म हिँडेरै पीडितहरु काठमाण्डौँ पुगी त्यहाँ आन्दोलन गर्ने तयारी गरेका छन् ।
साहुमहाजनबाट लिएको मिटरब्याजको ऋणले उठिवास नै लाग्ने अवस्था भएपछि पीडितहरुले जिल्लामा आन्दोलन गरेर थाकी संघीय राजधानी काठमाण्डौँ हिँडेका हुन् ।
तराईमा साहु महाजनले कपाली तमसुक बनाई थोरै पैसाको ऋण दिने तर धेरैको कागज बनाउने, ऋण चुक्ता गरिसक्दा पनि अझ धेरैको कागज देखाउने, भन्नेबित्तिकै पैसा नदिएपछि घर जग्गा नै रोक्का गर्ने, अदालतमा मुद्दा हाल्ने जस्ता अन्याय गर्दै आइरहेका छन् ।