लालबन्दी । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सर्लाहीले सरकारले रासायनिक मलमा गरेको मुल्यवृद्धि विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
जिल्ला सदरमुकाम मलंगवामा भएको महासंघको तेस्रो अधिवेशनले सरकारले किसानमारा नीति लिएको आरोप लगाउदै आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको हो । महासंघका नवनिर्वाचित अध्यक्ष रवि कडरियाले विषादीयुक्त भारतीय तरकारी खान वाध्य वनाउने, रासायनिक मलको अभाव एवं मुल्यवृद्धि जस्ता किसानका समस्याहरु सम्वोधन नभएकाले सडकमा उत्रने निर्णय भएको जानकारी दिए ।
अधिवेशनले कडरिया अध्यक्ष र सुशिल श्रेष्ठ सचिव रहेको ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्याक्षमा १ नम्वर क्षेत्रदेखि क्रमशः चार जना हेम वहादुर पौडेल, रामआश्रय यादव, अन्जना पन्त कडरिया र मदन साह रहेका छन् ।
उपसचिव त्रयमा विजकुमार यादव, शैब अन्सारी र रामजी खड्का रहेको निर्वाचन समितीका सदस्य विदुर कुमार प्याकुरेलले जानकारी दिए । नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष रामऔतार यादवले अधिवेशन उद्घाटन गरेका थिए ।
अधिवेशनमा बोल्दै उनले किसानका समस्या प्रति अहिलेको सरकार पूर्वाग्रही देखिएको आरोप लगाए । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु बलवीर चौधरी, कमलादेवी महतो र रंजना सरकार, महासंघका केन्द्रीय सचिव राजकुमार उप्रेती, एमाले जिल्ला अध्यक्ष राजनारायण साह, उपाध्याक्ष विदुर कुमार प्याकुरेल लगायतले मन्तव्य राखे ।
जिल्लाका २० वटा स्थानीयतहवाट २ सय जना किसान प्रतिनिधिको उपस्थितीमा अधिवेशन सम्पन्न भएको महासंघले जनाएको छ । अधिवेशनले पारित गरेका विभिन्न प्रस्तावहरु एमाले नेता चूडामणि वाग्लेले वाचन गरेका थिए ।
सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ । रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएकोे हो ।
मन्त्रालयका अनुसार यस अघि ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब ५९.०४ प्रतिशत मात्र अनुदान पाउने छन् । यसलाई क्रमशः ५० प्रतिशतमा कायम गरिने मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार अब युरियाको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ । यस अघि युरिया १४, डीएपी ४३ र पोटास ३१ रुपैयाँमा पाइन्थ्यो ।