मलंगवा । भारतमा मजदुरीका लागि पुगेका सर्लाहीका एक युवकको हत्या भएको छ ।
जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको भारतीय युवकले कुटपीट गरी हत्या गरेका हुन् । विगत चार महिनादेखि साथीहरुसँगै भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका बैठाको त्यहीँ हत्या भएको परिवारका सदस्यले बताएका छन् ।
फागुन २४ गते साँझ बैठामाथि भारतको बिहार राज्य सितामढी जिल्ला मेजरगञ्ज थाना बैहरा ग्राम बस्ने ३५ वर्षीय महेश माझीले कुटपीट गरी दाउराले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । स्थानीय अस्पतालमा उपचारपश्चात औषधि खाएर कोठामा बसिरहेका बैठाको फागुन २५ गते बिहान ४ बजेतिर मृत्यु भएको हो ।
मृतक बैठाको शव गएसाँझ पञ्जाबबाट गोडैतास्थित घर ल्याइएको छ । घटनाबारे जानकारी प्राप्त भएपश्चात प्रहरी टोली पठाएर मृतकको शवलाई प्रादेशिक अस्पताल मलङ्गवा ल्याइ पोष्टमार्टम गरेर आइतबार बिहान परिवारलाई बुझाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डीएसपी कैलाश राईले बताए ।
उनले घटना भारतमा भएको र अभियुक्त पनि भारतीय नागरिक नै भएकाले यहाँको प्रहरीले घटनाको सम्वन्धमा अनुसन्धान गरी कारवाही चलाउने अवस्था नरहेको जानकारी दिए । डीएसपी राईले उताबाट शवको पोष्टमार्टम समेत नगरी पठाइएकाले सदरमुकाम ल्याएर पोष्टमार्टम गर्न प्रहरीले समन्वय मात्रै गरिदिएको बताए ।
कुटपीट गर्ने मानिस र कानूनि प्रक्रियाका सम्वन्धमा भारतीय प्रहरीसँग समन्वय गरिने जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।