काठमाण्डौ । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको हो । जनता समाजवादी पार्टी(जसपा)नेपालबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ ।
उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन् । जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको उम्मेदवारी कायम गर्ने निर्णय भएको हो ।
फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन् ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज गर्ने निर्णय भएको जानकारी दिएका छन् । ’राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य र बाध्यात्मक व्यवस्था नगरी लिंग वा समुदायको हुनुपर्ने संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिँदा खसआर्य समुदायभन्दा फरक मधेसी समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भन्न नमिल्ने,’ उनले बताए ।
यादवविरुद्ध उपराष्ट्रपतिमा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतका उम्मेदवार ममता झाले उजुरी दर्ता गराएका थिए । पुरुष राष्ट्रपति निर्वाचित भइसकेको अवस्थामा महिला मात्रै उपराष्ट्रपति उम्मेदवार हुनुपर्ने शाक्य र झाको माग थियो ।
जनता समाजवादी पार्टीले उपराष्ट्रपतिमा दुई जनाकै उम्मेदवारी कायम राखेको छ । उम्मेदवारी फिर्ताको समयसीमाभित्र जसपाका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता नगरेपछि उपराष्ट्रपति चुनावमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
जसपाबाट प्रतिनिधिसभा सांसद रामसहायप्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवको उम्मेदवारी कायम रहेको छ ।
जसपाले प्रमिला कुमारीको उम्मेदवारी फिर्ता लिएर रामसहायको मात्रै कायम राख्ने तयारी गरेको थियो । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले पार्टीका शीर्ष नेताहरू र सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी राजनीतिक दलका नेताहरूका अनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको र उपराष्ट्रपति महिला हुनैपर्ने मागसहित सर्वोच्चमा मुद्दा पर्ने कुरा उठेपछि दुवैको उम्मेदवारी कायम राख्ने निर्णय भएको हो ।
अदालतमा रिट परेमा न्यायाधीशले कस्तो निर्णय गर्न सक्छन् भन्ने यकिन नभएकाले नै उपराष्ट्रपतिमा पार्टीबाट दुवै उम्मेदवारको नाम कायम राखिएको जसपा नेता तथा सांसद प्रदीप यादवले बताए । उनले मुद्दा नपरे र दुवैको उम्मेदवारी कायमै रहिरहे निर्वाचन अघिसम्म कुनै निर्णय लिइने बताए । ’रामसहाय यादवको हकमा पार्टीले निर्णय गरेको छ । उहाँ पार्टी र सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार हो,’ उनले भने, ’प्रमिलाजीको हकमा पछि निर्णय गर्छौं ।’