सिरहा । सिरहा नगरपालिकाका सफाई कर्मचारी फोहोर सडकमा फालेर आन्दोलनमा उत्रेका छन् । तलबभत्ता लगायतको सुविधा माग गर्दै आन्दोलनरत सिरहा नगरपालिकाका सफाइ कर्मचारी र प्रहरीबीच आइबार झडप पनि भएको छ । आन्दोलनरत सफाइ कर्मचारीले सडकमा पानी छर्किँदै गरेको सिरहा नगरपालिकाको बारुणयन्त्र रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप भएको हो ।
झडपको क्रममा प्रहरीले लाठीचार्ज गरेको छ । आन्दोलनरत सफाइकर्मीले पनि प्रहरीमाथि झाडु प्रहार गरेका थिए । एक प्रहरीको टाउको फुटेको छ । तलब सुविधाको माग गर्दै सफाइकर्मीले आइतबार बिहानदेखि प्रदर्शन सुरु गरेका हुन् ।
विगत चार महिनाको तलबभत्ता भुक्तानी नगरेको भन्दै सरसफाइ कार्यमा खटिँदै आएका कर्मचारी आन्दोलित भएका छन् । बिहानै सफा गरिएको सडकमा उनीहरूले संकलन गरेको फोहोर पुनः फ्याँकेर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए । होली पर्वसमेत आइसकेकाले तलबभत्ता भुक्तानी दिनुपर्ने भन्दै उनीहरू सडकमै फोहोर फ्याँकेर प्रदर्शनमा उत्रिएका हुन् ।
सिराहा नगरपालिका क्षेत्रभित्रका सडक, नगरपालिका कार्यालय र शौचालयहरू सरसफाइमा करिब ५० दलित, विपन्न, डोम र मेस्तर समुदायका मानिस कार्यरत छन् । लामो समयदेखि तलबभत्ता नदिँदा दैनिक गुजारा गर्नै धौधौ परेकाले दबाबस्वरूप आन्दोलनमा उत्रिनुपरेको सफाइकर्मी सुनील मेस्तरले बताए । ‘हामीलाई सेवा सुविधामा विभेद छ । सुरक्षाको सामग्री पनि दिइँदैन,’ उनले भने, ‘स्वास्थ्यमाथि जोखिम मोल्दै घरपरिवार चलाउन सरसफाइ कार्यमा खटिँदै आएका छौँ ।’
सफाई कर्मचारीलाई तलब भत्ता समेत खुवाउन नसकेका सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादव भने आप्mनो कामको प्रचारमा समय व्यतित गर्दै आएका छन् । उनी सिरहा नगरपालिकाको मेयरमा निर्वाचित भएसँगै एक कार्यक्रममा काम नगर्ने कर्मचारीलाई पिटाई गर्ने चेतावनी दिएर चर्चामा आएका थिए । सार्वजनिक कार्यक्रममै कर्मचारीलाई पिटाई गर्न पनि आपूm पछि नपर्ने बताएपछि डा. यादव विवादित बनेका थिए । आप्mनो पार्टीका कार्यकर्तालाई योजना वाँड्ने कार्यलाई प्राथमिकता दिएपनि नगरको सरसफाईमा खटिएका सफाईकर्मीको तलब खुवाउन तदारुकता नदेखाएको उनीमाथि आरोप लागेको छ ।