काठमाडौँ । सम्पत्ति सुद्धिकरणको मुद्दामा थुनामा रहेका सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहलाई विशेष अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
परदेशीविरुद्ध सम्पत्ति सुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो । विशेष अदालतका सूचना अधिकृत नारदप्रसाद भट्टराईले आइतबार अदालतमा उपस्थित गराइएका परदेशीलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको बताए ।
परदेशीको मिटर ब्याजको कारण पीडितहरुले दिएको उजुरीमाथि छानबिन गरी विभागले मुद्दा दायर गरेको थियो । पीडितहरुले राजधानीमा विरोध प्रदर्शन गरेपछि सरकारले पक्राउ गर्नुका साथै छानबिन सुरु गरेको थियो ।
२०७६ साल भदौ १५ गते श्याम परदेशी भन्ने ७६ बर्षीयसाह कलवार सर्लाहीस्थित आप्mनै घरबाट पक्राउ परेका थिए । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको थियो । परदेशीबाट ठगिएकाहरुले न्यायको खोजी गर्दै काठमाडौंसम्म पुगेका थिए ।