लालबन्दी । उत्पादनयामको अन्तिमतिर आएर भए पनि गोलभेँडाले राम्रो मूल्य पाउन थालेपछि सर्लाहीका किसान खुसी भएका छन् ।
केही साताअघिसम्म भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा बिक्री गर्नै समस्या परेको थियो । पछिल्ला दिनमा भने भारतीय गोलभेँडा भित्रिनेक्रम कम भएको र यहाँ पनि उत्पादन थोरै हुन थालेपछि मूल्य बढेको हो ।
अहिले यहाँका किसानले फलाएको गोलभेँडा प्रतिक्रेट ३५० देखि ४०० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ ।
यसरी थोकमा गोलभेँडा १५ रुपियाँ भन्दा बढी मूल्यमा बेच्न पाउँदा किसानलाई राम्रो आम्दानी हुन थालेको हो । लालबन्दी नगरपालिका–११ हीरापुरका किसान तिलबहादुर मोक्तानले गोलभेँडाले बजार भाउ पाउन थालेको भन्दै खुसी व्यक्त गरे ।
किसानले माघ मध्यतिर गोलभेँडा प्रतिक्रेट १५० देखि २०० रुपियाँसम्ममा बेचेका थिए । त्यतिबेला न्यून मूल्यमा गोलभेँडा बिक्री गर्न पनि किसानलाई गाह्रो परेको थियो । अहिले भने किसानले गोलभेँडाको राम्रै मूल्य पाइरहेका कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।
जिल्लाकै सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीमा किसानले ल्याएर बिक्री गरेको ३० टन बढी गोलभेँडा दैनिक काठमाडौँ, पोखरा, सिन्धुलीलगायत ठूला सहर बजारमा निर्यात हुने गरेको छ । लालबन्दी बजारका व्यापारी तोरबहादुर मगरले हिजोआज किसानलाई गोलभेँडा बेच्न कुनै समस्या नरहेको बताए ।
तरकारी बजारको अध्यक्ष समेत रहेका मगरले गोलभेँडा धेरै फल्दा किसानले भाउ नपाए पनि अहिले विस्तारै उत्पादन कम हुँदै गएपछि राम्रो भाउ पाउन थालेका बताए । सर्लाहीमा उत्तरी भेगका ईश्वरपुर, लालबन्दी, हरिवनसहित छेउछाउका पालिकामा गोलभेँडाको व्यावसायिक खेती हुन्छ ।
किसानले फलाएको गोलभेँडा लालबन्दी बजारसहित नवलपुर, सासापुर, हरिवनलगायत स्थानमा रहेका गोलभेँडा सङ्कलन केन्द्रमा ल्याएर बिक्री गर्ने गरेका छन् ।