काठमाडौँ । सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् ।
एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । परराष्ट्रमन्त्री बिमला राई पौड्यालले दिउँसो साढे ३ बजेपछि प्रधानमन्त्रीलाई पार्टीबाट मन्त्री भएका सबै जनाले राजीनामापत्र बुझाएको बताइन् । ’भर्खरै हामी सबैजनाले राजीनामापत्र प्रधानमन्त्रीलाई बुझाएका छौं,’ उनले भनिन् ।
दाहाल मन्त्रिपरिषद्मा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।
राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको माओवादीले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।
नेकपा एमाले, राप्रपा र रास्वपा सत्ताबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएको छ । सोमबार एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री दाहाल मातहतमा रहने मन्त्रालयको संख्या १६ पुगेको हो ।
सरकार निर्माणदेखि नै प्रधानमन्त्री दाहालसँगै वन तथा वातारण, युवा तथा खेलकुद मन्त्रालय रहेको थियो । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्रालय पनि आफूसँग राखे । गृह मन्त्रालय नपाउने भएपछि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २ मन्त्री र १ राज्यमन्त्रीले सरकार छाडेका थिए । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका थिए । रास्वपाले छाडेको मन्त्रालय मन्त्रालय पनि प्रधानमन्त्री दाहाल आफैंमातहत राखे ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री थिए ।