जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कर्मचारी भर्नाको विषयलाई लिएर वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले बताए ।
‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम ? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन् । जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौं । समस्या समाधान नभए भोलिको दिनमा हामी थप सशक्त आन्दोलन गर्नेछौं’, उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा आइतबार वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् । साउन महिनामा गरिएको विज्ञापनको गएको शुक्रबार अन्तिम नतिजा सार्वजनिक गरिएको थियो । छनौट प्रक्रिया पारदर्शी नभएर आप्mनो उम्मेदवारलाई उत्तिर्ण गरेको आरोप लगाउँदै वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादव, वडा नं. २ का वडाध्यक्ष लालजी साह, वडा नम्बर–५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महावीर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका हुन् ।
यादवले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत यादव मिलेर खुला प्रतिस्पर्धा नै नगरेर आफ्नो नजिकको मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन् । कर्मचारी भर्नामा विवाद हुँदा सात महिनादेखि नतिजा रोकिएको थियो । गाउँपालिका अध्यक्ष मिश्रले समायानुकल नपाउँदा नतिजा सार्वजनिक कार्यक्रमलाई सार्दै आएको थियो–वडाध्यक्ष दिलिप यादवले भने–चाडपर्वको मौका छोपेर उनले विधि प्रक्रिया मिचेर आप्mनो नजिकको मान्छेलाई उत्तिर्ण भएको सूचना सार्वजनिक गर्न लगाएका छन् ।
सात वटा वडा रहेको लक्ष्मीनियाँ गाउँपालिकाको पाँच वटा वडाध्यक्ष नेकपा एमालेका उम्मेदवारले जितेको छ । बहुमत नेकपा एमालेसित भएपनि वडाध्यक्षलाई पेलेर अध्यक्ष मिश्रले आप्mनो स्वार्थ पूरा गर्दै आएको वडाध्यक्ष महावीर साहले आरोप लगाए ।