जनकपुरधाम । नेपाल शिक्षक संघ धनुषाको नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्र शनिबार सम्पन्न भएको छ । मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उद्घाटन गरेपछि अधिवेशन सुरु भएको थियो । शनिबार उद्घाटन सत्र गरेपनि जिल्ला कार्य समिति भने केही दिन पछि मात्रै चुनिने भएको छ ।
जिल्ला अध्यक्ष रामसिनेही यादवको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य यादवले शिक्षकको हक अधिकारको लागि पार्टी सदैव तत्पर रहेको बताए । उनले नेपाल शिक्षक संघ धनुषाले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेर अघि बढनुपर्नेमा जोड दिए । निर्वाचन प्रक्रियाबाट नयाँ कार्य समिति चयन गर्दा संगठन स्पष्ट रुपमा दुई खेमामा वाँडिने गरेकोले एकजुट भएर सर्वसम्मत रुपले नयाँ कार्य समिति चयन गर्न उनले सबैमा आग्रह गरे ।
सो अवसरमा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको प्रमुख सचेतक कुमरकान्त झाले शिक्षकहरुको हक अधिकारको लागि पार्टी प्रतिबद्ध रहेको बताए ।
नेपाली कांग्रेस धनुषाका कार्यबाहक सभापति गणेश झा, नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि प्रदेशसभा सदस्य यादवले नेपाल शिक्षक संघ धनुषा कार्यालयको पहिलो तल्लाको उद्घाटन गरेका थिए । उनले उपलब्ध गराएको बजेटबाट नेपाल शिक्षक संघ धनुषाको कार्यालय दुई तल्ले बनेको हो । यसअघि भुइतल्ला थियो ।
१८ वटै पालिकाको अधिवेशन सम्पन्न गरेर धनुषा जिल्ला अधिवेशन गरिएको छ ।