जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनको प्रभाव मधेश प्रदेश सरकारमा नपर्ने बताएका छन् ।
शनिबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति र उपराष्ट्रपतिमा भएको समीकरणले मधेश प्रदेश सरकारमा कुनै फरक नपर्ने बताए । अध्यक्ष यादवले अब हुने सत्ता समीकरणले प्रदेशले थप अधिकार पाउने जिकिर गरे । ‘प्रदेशहरू अझ बलियो हुन्छ । प्रदेशलाई बलियो बनाउने, प्रदेश सरकारलाई स्रोत÷साधन र अधिकार सम्पन्न बनाइन्छ’, उनले भने ।
राष्ट्रपति निर्वाचनले संघीय सरकारमा फेरबदल हुन सक्ने उनले बताए ।
अब आफ्नो पार्टी बिस्तारै सरकारमा सहभागी हुने र नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने अध्यक्ष यादवले प्रष्ट पारे ।
राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको उनको भनाइ छ ।
राष्ट्रपति निर्वाचनपश्चात् सरकार परिमार्जन हुने र जसपा सरकारमा जाने उनले प्रष्टयाए ।
अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने बताउँदै नयाँ समीकरणमा काँग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति पाउने पक्का भएको दावी उनले गरे ।
जसपा धनुषा क्षेत्र नम्बर ३ को शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकमा राष्ट्रिय अध्यक्ष यादवले कार्यकर्तालाई संगठन सुदृढिकरण गरेर अघि बढन निर्देशन दिए ।
यता, जसपाले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ ।
आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि अहिले छलफल सुरु भएको हो । जसपामा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर आन्तरिक छलफल सुरु हुनाका साथै त्यसका लागि नेताहरूको लबिङसमेत हुन थालेको बताइएको छ ।
जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ भने दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा रहेको बताइएको छ ।
जसपाका कार्यकारिणी सदस्यसमेत रहेका यादवले उपराष्ट्रपतिको उम्मेदवारका बारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए ।
उपराष्ट्रपतिको विषयमा छलफल हुन बाँकी रहेको र पार्टीले उपराष्ट्रपतिको विषयमा जे निर्णय गर्छ त्यो आफूलाई स्वीकार हुने उनको भनाइ थियो ।