राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दल बीच सहमति
काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।
आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।
‘अहिले साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्वसम्मतले निर्णय गरेको छ,’ उपसभापति खड्काले भने ।
आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले राष्ट्रपति कांग्रेसलाई दिने सहमति भए पनि उम्मेदवारबारे छलफल नभएको बताएका छन् । राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकपछि उनले संसद्मा प्रतिनिधित्व गर्ने आठ दलको बैठकमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसद्को ठूलो दल कांग्रेसको उम्मेदवारलाई समर्थन गरौँ भन्ने प्रस्ताव गरेको र त्यही प्रस्तावमा सबै दलले सहमति जनाएपछि बैठक सकिएको बताए ।
‘प्रधानमन्त्रीजीले संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको उम्मेदवारलाई जिताऔँ भन्ने प्रस्ताव गर्नुभयो । त्यो प्रस्तावमा सबै दलले समर्थन गर्ने, सहयोग गर्ने भन्ने सहमति भयो । उम्मेदवार कसलाई बनाउने भन्नेबारे नेपाली कांग्रेसले निर्णय गर्ला,’ उनले भने ।
उनकाअनुसार बैठकमा सत्ता र शक्ति बाँडफाँटका विषयमा छलफल नै भएको छैन । ‘हामीले अहिले राष्ट्रपतिको निर्वाचनका विषयमामात्रै छलफल ग¥यौँ, भोलि कसरी जाने भन्नेबारे फेरि छलफल होला, आजको एजेण्डा नै त्यतिमात्रै थियो,’ उनले भने ।