जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशका ५ जनासहित ६१ जना सहसचिवको सरुवा गरेको छ ।
शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मधेश प्रदेशका ५ जना सचिवको सरुवाको निर्णय गरेका हुन् ।
हेमन्तराज निरौलालाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । निरौला यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मेख बहादुर मंग्रातीलाई गृह मन्त्रालयमा तानिएको छ ।
यस्तै, उद्धव प्रसाद रिजाललाई प्रदेश नीति तथा योजना आयोगमा सरुवा गरिएको छ । रिजाल धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर मधेश प्रदेश आउन लागेका हुन् ।
गृह तथा संचार मन्त्रालयको सचिवमा उमेश कुमार ढकाललाई पठाउने भएको छ । उनी हाल गृह मन्त्रालयमा कार्यरत्त छन् । मधेश प्रदेशको गृह तथा संचार मन्त्रालयका सचिव रामकुमार महतोलाई गृह मन्त्रालय तानिएको छ । मधेश प्रदेशको अर्थ मन्त्रालयमा प्रेम प्रसाद भट्टराईलाई पठाइएको छ । अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरलाई उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिष्म कुमार भुषाललाई पठाउने भएको छ । भुषाल हाल गृह मन्त्रालयमा थिए ।
यस्तै जनकपुरधाम उपमहानगपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्ण प्रसाद सापकोटाको सरुवा गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव श्यामप्रसाद भण्डारी प्रदेश–१ को आर्थिक तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । अख्तियारमा भने बद्री बहादुर कार्की पठाइएका छन् ।
यस्तै प्रदेश–१ मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सहसचिव शिवकुमार कार्कीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरूवा गरिएको छ ।
गृहमन्त्रालयमा कार्यरत सहसचिव उमेश कुमार ढकाललाई मधेश प्रदेशको प्रदेश तथा नीति योजना आयोगमा पठाइएको छ भने गृहकै अर्का सहसचिव प्रेमप्रसाद भट्टराईलाई मधेश प्रदेशको अर्थमन्त्रालयमा सरूवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवा सूची टुङ्ग्याएको हो ।
।