जनकपुरधाम । आउँदो फागुन १६ गतेदेखि जनकपुरधाममा अन्तर(इन्टर) कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । जनकपुर एकेडमीको आयोजनामा स्थानीय बारहविग्हा मैदानमा इन्टर कलेज क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको प्रतियोगिताको संयोजक प्रशान्त कर्णले जानकारी दिए । प्रत्येक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै स्वस्थ बनाउनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगितामा कम्तीमा १६ वटा कलेजको टिम सहभागि हुने अपेक्षा गरिएको राष्ट्रिय टिमका खेलाडी तथा हरिज स्पोर्टस जोनका सञ्चालक हरिशंकर साहले बताए । जसमध्ये १२ वटा टिमले नामांकन गराइसकेको छ ।
ड्युज बलले खेलाइने उक्त प्रतियोगिता नकआउट प्रणालीमा हुने छ । प्रतियोगितामा प्रतिभावान देखिएको खेलाडी छनौट गरी नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाको तयारी छ । यसअघि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट गरेका खेलाडीहरुलाई छनौट गरी तीन वटा टिम बनाएको छ । उनीहरु अहिले नियमित अभ्यास गरिरहेका छन् ।
प्रतियोगितामा विजेता, उप–विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटर र विकेटकिपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले जानकारी दिए ।