जनकपुरधाम । सप्तरीमा ४० वर्षीया एक महिलाले आत्मदाह गरेकी छन् ।
शुक्रबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ तेलियारी टोल बस्ने ४० वर्षीया राजु देवी साहले घरमा कोही नभएको समयमा पेट्रोल छर्केर आत्मदाह गरेकी हुन् ।
उनी घरमै टाँसिएको शौचालय भित्र पसी आफ्नो जिउँमा आगो लगाएकी थिइन् । आगो बाट शौचालय भित्रै जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
महिलाले आत्मदाह गरेको कारण भने अहिलेसम्म नखुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । केही दिन अघि मात्रै काठमाण्डौमा पनि एक पुरुषले आत्मदाह गरेका थिए । गएको १० माघमा काठमाडौंस्थित संघीय संसद भवनअगाडि प्रेम प्रसाद आचार्य नाम गरेको व्यक्तिले आफैंलाई आगो लगाएर आत्मदाह गरेका थिए ।
बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका थिए । आर्थिक रुपमा थलिएका उनले मांसिक तनाबमा आत्मदाह गरेको बताइएको थियो ।