जनकपुरधाम । नेपाली कांगे्रस मधेश प्रदेश सभा संसदीय दलको उपनेतामा वीरेन्द्र प्रसाद सिंह मनोनित भएका छन् । नेपाली कांग्रेस मधेश प्रदेश सभा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सिंहलाई दलको उपनेता मनोनित गरेका हुन् । संसदीय दलका नेता यादवले बिहीबार पूर्व मन्त्री समेत रहेका सिंहलाई दलको उपनेता मनोनित गरेका हुन् । यसअघि मंगलबार नेपाली कांग्रेस मधेश प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा कुमरकान्त झा र सचेतकमा जीवछि देवी यादवलाई मनोनित गरेका थिए ।
नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (६) बमोजिम प्रदेश सांसद सिंहलाई दलको उपनेता मनोनित गरिएको हो । प्रदेशसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसले यसअघि संसदीय दलको उपनेता मनोनित गरेको थिएन् । लालबाबु राउत नेतृत्वको सरकारमा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्री रहेका प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह पार्टीको प्रदेश उपाध्यक्ष समेत रहेका छन् । सर्लाही–४ (१) बाट सांसद सिंह लगातार दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सिंहले १५६९३ मत ल्याएर नेकपा एमालेका उम्मेदवार रामबाबु रायलाई एक हजार बढी मतले पराजित गरेर लगातार दोश्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।