काठमाण्डौ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।
उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।
बुधबार राति घाइते भएका नेता डा भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले बिहीबार विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । बुधबार राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला घाइते भएको थियो ।
आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो ।