दाङ । लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उहाँले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएका हुन् ।
गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेका थिए ।
मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गर्नुभएको उनको निजी सचिवालले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट विनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । उनले भने, मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।
मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएको थियो । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएको थियो ।
मन्त्रालयको जिम्मेवारी दिने बेलामा दलमा छलफल नभएकोमा असन्तुष्टि जनाउँदै केसीले राजीनामा दिएकी हुन् । सत्तारुढ दलमा भएको सहमतिअनुसार लुम्बिनीमा माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला, कानुन तथा सञ्चार र भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । केसीले भौतिक पूर्वाधारमा दाबी गर्दै आएकी थिइन् । माओवादी केन्द्र, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मन्त्री केसीले राजीनामा दिएकोबारे आफूलाई पनि पत्र पठाएको बताए । केसी बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् ।
लुम्बिनीमा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी छ । माओवादीबाट आर्थिक मामिला मन्त्रालयमा संसदीय दलका नेता जोखबहादुर महरा जाने सम्भावना छ । कृष्णा केसीको मन्त्रालय र अर्को मन्त्रीकै टुंगो लाग्न बाँकी छ ।
भौतिक पूर्वाधार विकास र आन्तरिक मामिलामध्ये एकमा केसीको निश्चित भए पनि अर्को कसलाई पठाउने भन्ने माओवादीमा विवाद छ । रोल्पाका दीपेन्द्र पुन, दाङका इन्द्रजित थारु र धनबहादुर मास्की मन्त्री बन्ने प्रतिस्पर्धामा छन् । थारु पूर्वमन्त्री पनि भएकाले पार्टीको प्राथमिकतामा पुन छन् ।