गौर । रौतहटको बृन्दावन नगरपालिकामा गिटी, बालुवा करको विषयलाई लिएर शनिबार दुई पक्षबीच झडप भएको छ । झडपमा दुई पक्षका चार जना घाइते भएका छन् ।
बृन्दावन नगरपालिकामा वाग्मती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा चार जना घाइते भएको हो । दुई पक्षबीच भडप हुँदा उत्पन्न तनाव नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरिदिएका छन् । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।
घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर–चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका थिए ।
वाग्मती नदीको दुबै घाटबाट अमानतमा गिटी, बालुवा निकासी हुँदै आएपछि स्थानीयले विरोध जनाएको थियो । यहीबीच शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेता बसेर तत्काल अमानतमा निकासीको रसिद काट्न नदिन नगरप्रमुख विनोद पटेललाई अनुरोध गरेका थिए । नगरप्रमुख पटेलले तत्काल अमानतमा कर नउठाउने आश्वासन दिए पनि उनका आफन्तहरु मिलेर शनिबार घाटमा रसिद काट्न थालेपछि झडप भएको हो ।
ठूलो संख्यामा स्थानीय नदिमै पुगेर रोक्न खोजे पछि झडप भएको एमाले नेता प्रेमशंकर यादवले बताए । ‘हामीले अमानतमा कर उठाउँदा अनियमितता भएको भन्दै नगरप्रमुख पटेललाई तत्काल रोक्न भनेका थियौं । उहाँले हुन्छ भनेर आश्वासन दिनुभयो,’ उनले भने, ‘बोली र व्यवहारमा फरक देखाउँदै आफ्ना मान्छे लगाएर अमानतमै कर उठाउन थालेपछि स्थानीयले प्रतिकार गरेका हुन् । अमानतमा उठाइएको रकम समेत दाखिला भएको छ÷छैन भन्ने कसैलाई थाहा छैन् ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलकै मिलेमतोमा अमानतमा निकासीको कर काट्ने काम भइरहेको भन्दै उनलाई कारबाहीको माग अघि सारेका छन् । बृन्दवन नगरपालिकाले तीन महिनाअघि दुबै नदीबाट गिटिजन्य वस्तु निकासीका लागि ३ करोडमाथि मूल्य राखेर ठेक्का आह्वान गरेको थियो । तर, मूल्य बढी भएको भन्दै कसैले पनि सकार गरेनन् । त्यसपछि नगरप्रमुख पटेलले आफ्ना मानिस लगाएर अमानतमा कर उठाउन खटाएका हुन् ।