जनकपुरधाम । मधेश प्रदेशमा शनिबार विविध कार्यक्रम गरेर प्रदेश निजामती सेवा दिवस मनाइएको छ ।
शनिबार बिहान कर्मचारीहरुले जानकी मन्दिरबाट प्रभातफेरी आयोजना गरेको छ । जानकी मन्दिरबाट सुरु भएको प्रभातफेरी जनक चोक, शिवचोक, भानुचोक हुँदै मधेश भवनको कभर्ड हलमा पुगेर सम्पन्न भएको थियो । सो अवसरमा एक वर्ष भित्र अनिवार्य अवकाश प्राप्त गरेका प्रदेश निजामती सेवाका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ ।
नेपाल निजामती कर्मचारी युनियन मधेश प्रदेशका अध्यक्ष राजकिशोर राउतको अगुवाईमा पहिलो पटक प्रदेश निजामती सेवा दिवस मनाइएको हो । प्रथम प्रदेश निजामती सेवा दिवसको अवसरमा संघीयतामा प्रदेश निजामती प्रशासन, मधेश प्रदेशको विकास, समृद्धि र सुशासन विषयक गोष्ठीको समेत आयोजना गरेको छ । मधेश प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउतको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा मधेश प्रदेशका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।