काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएपछि ठाकुरलाई निलम्बन गरिएको हो ।
सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको हो ।
यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।
यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकाले जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो । सो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिए ।
केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।