जनकपुरधाम । सदरमुकाम जनकपुरदेखि करिब ३५ किलोमीटर पूर्वमा पर्ने शहीदनगर नगरपालिका–८ को डुमरियास्थित निर्मित अस्पतालमा बुधबार बिहान चहलपहल थियो ।
गएको पुस २९ गते मात्र मुख्यमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका नेता सरोज कुमार यादवको आगमन हुने खबरले स्थानीयमा चहलपहल थियो ।
निर्माण कार्य सम्पन्न भएर लामो समयदेखि प्रयोगविहीन बनेको अस्पताल संचालनबारे मुख्यमन्त्रीज्यूले कुनै घोषणा गर्ने जिज्ञासा स्थानीयको थियो । स्थानीयको जिज्ञासा मेट्दै शहीद सुर्यनाथ रानको नाममा निर्मित उक्त अस्पताल भवन संचालनको लागि सामाजिक विकास मन्त्री सुरिता साह र सचिव लक्ष्मी प्रसाद भट्टराईलाई ठाउँको ठाउँ मुख्यमन्त्री यादवले निर्देशन दिए । स्थानीय तहले अस्पतालको स्वामित्व ग्रहण गर्नको लागि एउटा पत्र प्रदेश सरकारलाई दिनको लागि मुख्यमन्त्री यादवले भने–त्यसपछि प्रदेश सरकारले संचालन प्रक्रिया अघि बढाउँछ ।
भौतिक पूर्वाधार पर्याप्त रहेपनि उक्त अस्पताल संचालनमा नआउँदा शहीदनगर नगरपालिकासहित कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैला नगरपालिकाका बासिन्दा स्वास्थ्य उपचार गराउनबाट बञ्चित हुनुपरेको छ । अस्पताल संचालनमा तदारुकता देखाउन स्थानीयले मुख्यमन्त्री यादवलाई आग्रह गरेका थिए । ती भवनमा जिल्ला अस्पताल संचालन गर्न तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साहले गरेको घोषणा कार्यान्वयन भने हुन सकेको थिएन् ।
जिल्ला अस्पतालको रुपमा निर्माण कार्य सम्पन्न भइसकेको वर्षौ भइसकेपनि संचालनमा आउन नसकेको ती अस्पताल अचेल जीर्ण अवस्थामा छ ।
निर्माण कार्य सम्पन्न भइसकेपछि अस्पतालको अभिभावकत्व ग्रहण लिने विषयमा तीनै तहको सरकारबीच तालमेल नहुँदा भवन प्रयोगविहीन बनेको छ ।
धनुषा–२(२) बाट प्रदेशसभामा लगातार दोश्रो पटक निर्वाचित रामअशिष यादवले आप्mनो पहलमा मुख्यमन्त्री सरोज कुमार यादवलाई बुधबार विहानै अस्पतालको निरीक्षण गराउन डुमरिया लगे ।
उनको पहलकदमीमा सामाजिक विकास मन्त्री सुरिता साह मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराई, वरिष्ठ स्वास्थ्य प्रशासक डा. मुक्ती नारायण साह, शहीदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव लगायतको टोली अस्पताल भवनको निरीक्षण गरेका छन् ।
मुख्यमंत्री यादवले शहीदनगर नगरपालिकाको डुमरियास्थित शहिद सुर्यनाथ राण अस्पतालको स्थलगत निरीक्षण गर्दै अस्पताल संचालनको लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाउने बताए ।
तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले उक्त अस्पताल भवन निर्माणको लागि बजेट उपलब्ध गराएका थिए । तर, संचालनको लागि भने उनी चासो नलिएको स्थानीयको गुनासो थियो ।
स्थानीय रुपेश बिराजीले अस्पताल निर्माणबारे मुख्यमन्त्री यादवसमक्ष बिफ्रिङ गरेका थिए ।
समाजसेवी चन्देश्वर लखनदहि, डा. निरन्जन गोईत, डा. संजिब यादव, नन्दकिशोर यादव, शिवकुमार लखनदहि, किशोरी महतो, रुपेश यादव लगायतले निर्माण कार्य पूरा भइसकेको अस्पताल संचालनमा पहलको लागि आग्रह गरेका थिए ।
स्थानीय समाजसेवीहरुले सहयोग गरेको १ बिग्हा जग्गामा २०६५ सालमा संघीय सरकारको बजेटमा डुमरिया अस्पतालको निर्माण गरिएको थियो ।