जनकपुरधाम । बारामा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित शारदा शंकर प्रसाद कलवार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
कलवारलाई जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले पार्टीको सदस्यता प्रदान गरेका छन् । जनकपुरस्थित जसपा प्रदेश पार्टी कार्यालयमा आइतबार अर्थमन्त्री संजय कुमार यादव, जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादव, निवर्तमान प्रदेशसभा सदस्य पारस साह लगायतको उपस्थितिमा कलवारले पार्टी प्रवेश गरेका हुन् ।
कलवार बारा क्षेत्र नं २ (१) बाट ९ हजार २९५ मत ल्याएर लगातार दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा कलवारले नेकपा एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजयी भएका थिए ।
यसअघि महोत्तरी २ (२) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रमोद कुमार जैसवाल जसपामा प्रवेश गरेका थिए । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ । गएको मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशमा कलवारसहित ६ जना स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । ती मध्ये तीन जना जसपामा प्रवेश गरेका छन् भने एक÷एक जना नेकपा एमाले र माओवादी प्रवेश गरिसकेका छन् । सप्तरीमा निर्वाचित अनिरुद्ध सिंह भने अहिले कुनै पार्टी प्रवेश गरिसकेका छैनन् ।
बारा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् कलवार यसअघि नेकपा एमालेमा प्रवेश गरेको बताइएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमाले प्रवेश गरेको बताइएको थियो । तर, उनले आइतबार एमाले प्रवेश नगरेको स्पष्ट पार्दै जसपा आप्mनो पुरानो घर रहेको बताए ।
जसपा प्रवेश गरेर आप्mनो पुरानै घर प्रवेश गरेको प्रदेशसभा सदस्य कलवारको तर्क थियो । एमाले अध्यक्ष ओलीसित भेट्न गएपनि पार्टी प्रवेश भने नगरेको उनले प्रष्टयाए ।
जनता समाजवादी पार्टीबाट यस अघी प्रदेशसभा सदस्य भएका कलवारलाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । जसपाले बारा–२(१) नेकपा एमालेलाई छाडेको थियो ।