काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सो जानकारी दिए ।
बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् । यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उनी पदमुक्त भएका थिए ।
नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णय गरेको हो ।
आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यस्तै, बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले पार्टीले दिएको समर्थन कायम राखेर पार्टीबाट बनेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको बताए ।
उनले सरकारमा पार्टीले गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका हुन् ।
‘गृह मन्त्रालय हामीले शक्ति बाँडफाँटमा गठबन्धनमा सम्झौता गरिसकेको विषय हो । त्यहीअनुसार पार्टीले पाउनुपर्छ भनेका थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले तपाईं पार्टी अध्यक्ष भएको हिसाबले तपाईं आफैँ हुँदा गृह मन्त्रालय ठीक थियो, अब हुँदैन भन्नुभयो । हामीले गृह मन्त्रालयबाटै धेरै डेलिभेरी दिन सक्थ्यौं भन्ने थियो, त्यो नभएपछि हामी रहेनौं ।’
उनले आफूले पनि पुनः गृहमन्त्री बन्न चाहेको, तर सत्ता गठबन्धनमा स्वीकार्य नभएपछि सरकारबाट बाहिरिएको बताए । ‘हामीले गृह नै माग्नुको कारण छ । सरकारमा गइसकेपछि हामीले डेलिभेरी दिनुपर्ने हुन्छ । त्यो डेलिभेरी जहाँ हुन्छ, त्यहाँ जाने हो,’ उनले भने, ‘मैले नै नपाएका कारण सरकार छोडेको होइन ।’
नेताहरुका अनुसार मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको छ ।
सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन् । मन्त्रीद्वय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनीयताको शपथ लिएका थिए ।