प्रदेश सरकारले द्रुत गतिमा काम गर्छःमुख्यमन्त्री यादव
जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारको कामकाजले अव गति लिने विश्वास व्यक्त गरेका छन् ।
मधेश प्रदेशसभाको पाँचौ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सरकार विस्तार कार्य भइसकेकाले अव कामकाजलाई गति दिने बताए ।
भोलि(आइतबार) बिहान सबै मन्त्री र सचिवहरुको बैठक आह्वान गरेको छु । बैठकबाट एउटा ठोस निष्कर्ष निकालेर प्रदेश सरकारको काम बुलेट ट्रेनको स्पिडमा अघि बढाइने मुख्यमन्त्री यादवले बताए ।
मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो उद्देश्य रहेकोसमेत बताए । उनले आफूले भ्रष्टाचार नियन्त्रण गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
‘चारवटा विशेष कुरामा मैले ध्यान दिएको छु, ‘उनले भने,‘ स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन मेरो प्राथमिकतामा छ । यो चारवटा क्षेत्रमा हामी दिनरात काम गर्नेछौं ।’
उनले विगत वर्षका बाँकी रहेका अप्ठ्यारा कामहरुलाई पनि समाधान गर्ने प्रतिबद्धता जनाएका
उनले भने, ‘गत वर्ष उपभोक्ता समितिले काम गरेका भुक्तानीहरु पाएका छैनन् । दुई÷तीन वर्ष अगाडिदेखि स्वच्छता अभियानका कामहरु भएका छन् । मुख्यमन्त्री कार्यालयबाट पनि धेरै टेण्डरहरु भएका थिए । ठेकेदारहरुले काम गरिसकेपनि भुक्तानी भएको छैन् । मैले सचिवहरुलाई १५ दिनभित्र यसको निकास निकालेर भुक्तानीका लागि काम अगाडि बढाउन निर्देशन दिइसकेको छु ।’
मुख्यमन्त्री यादवले पहिलो कार्यकालमा आफू सभामुख हुँदा प्रदेशसभा सदस्यहरुको सहयोगले ऐन कानुन मात्र नभई प्रदेशको नाम र राजधानी जस्तो विषय पनि सहमतिमै पारित गराएकोले यसपटक पनि सबैको सहयोग पाए राम्रो काम गर्ने प्रतिबद्धता जनाए । कानुन निर्माणमा विपक्षी दलहरूले गरेको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री यादवले विपक्षीहरूलाई साथ लिएरै विकास र समृद्धि हासिल गर्ने बताए । उनले संघीयता र संविधान कार्यान्वयमा प्रदेशको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
विगतको कमीकमजोरी सच्चाउँदै अगाडि बढ्ने मुख्यमन्त्री यादवले प्रतिबद्धता जनाए । वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले भने, ‘हामी कानुन निर्माण र विकास निर्माण अगाडि बढाउन प्रयत्नशील छौँ । सभामुख रामचन्द्र मण्डलको सभापतित्वमा भएको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले निवर्तमान प्रदेशसभा सदस्यहरुलाई सम्मान गरेका थिए । सो अवसरमा उत्कृष्ट प्रदेशसभा सदस्यको पुरस्कार जनता समाजवादी पार्टी(जसपा) का प्रदेश सांसद रामअशिष यादवलाई प्रदान गरिएको थियो । प्रदेश प्रमुख मिश्र र मुख्यमन्त्री यादवले प्रदेशसभाका कर्मचारीहरुलाई समेत सम्मानित गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का प्रदेशसभा सदस्य रानी कुमारी तिवारीको संयोजकत्वमा गठित वार्षिकोत्सव मूल आयोजन समितिले समारोहको व्यवस्थापनमा सहयोग गरेका थिए । वार्षिकोत्सवको अवसरमा रक्तदान र बेडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।