जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोलसहित एक जना मिटर ब्याजीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन् ।
साह उपर पीडितहरुले उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार दिउँसो प्रहरीले साहको घर तथा पसलमा खानतलासी गर्दा समेत यस कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू तथा कटुवा पेस्तोल थान १, .३०३ राईफलमा लाग्ने गोली थान ४, म्यागनममा लाग्ने गोली थान १ र म्यागनमको खोका थान १ फेला पारेको थियो । प्रहरीले दिलिप साह तथा उनको श्रीमति ममता देवी साह समेत नाममा रहेको राजिनामा फारम सहितको जग्गा धनि पुर्जा ३९ थान, दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान, कपाली तमसुक १५ थान, खाली कागजमा सहिछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको विपक्षी पवन नारायण झाको नाममा रहेको सक्कलै म्याद बान १ थान, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक दिपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले साहको घर र पसलमा खानतलासी गर्दा कपाली तमसुक, जग्गाधनी लालपूर्जा फेला परेको हो । कानून बमोजिम हतियार र कागजातहरु बरामद गरी साहलाई पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।