नेपाल–भारतबीचको सम्बन्ध थप प्रगाढ हुन्छःमुख्यमन्त्री यादव
जनकपुरधाम । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मुख्य गर्भगृहमा राख्न भगवान् श्रीरामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको देवशिलाको जनकपुरधाममा आइतबार विशेष पूजा गरिएको छ । शनिबार मध्यराति जानकी मन्दिरमा ल्याइएको शिलामा आइतबार बिहान विशेष पूजा गरिएको हो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधुसन्त,महन्थ र श्रद्धालु भक्तजनले मन्दिर प्राङ्गणमा विशेष पूजा गरेका थिए ।
विशेष पूजामा सरिक भएका मुख्यमन्त्री सरोज कुमार यादवले अयोध्याको ऐतिहासिक राम मन्दिरमा मूर्ती बनाउनको लागि नेपालबाट शिला लैजानु मुलुकको लागि गर्भको विषय भएको बताए । यसले दुवै देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने तर्क उनले गरे । जानकी मन्दिर परिसरमा आयोजित विशेष पूजामा सरिक भएका नवनियुक्त मुख्यमन्त्री यादवले भारतमै यस्ता शिलाहरु उपलब्ध रहेपनि नेपालको शिलाको मूर्ती बनाउँन लागेकोमा खुशि व्यक्त गर्दै यसलाई गौरवान्वित हुने क्षण बताए । मुख्यमन्त्री यादवले नेपालको पवित्र नदी (कालीगण्डकी) बाट ल्याइएको देव शिला अयोध्यामा निर्माण हुने मन्दिरका लागि मूर्ति बनाइनु आफैँमा ऐतिहासिक भएको बताए । उनले भारतमा तमाम नदी र नदीमा ढुङ्गा नभएर नेपालबाट लिइएको नभई नेपालको धार्मिक महत्व र धार्मिक आस्थाका हिसाबले भारतबाट दिइएको उच्च सम्मानको एक अनुपम उदाहरणका रुपमा लिनुपर्ने मुख्यमन्त्री यादवले थपे ।
शिलामा पूजाका लागि आइतबार दिनभर मन्दिर प्राङ्गणमा राखिने र सोमबार बिहान शोभायात्रासहित जनकपुरधाम परिक्रमा गरी अयोध्याको लागि प्रस्थान गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।
अयोध्याबाट बन्न लागेको राम मन्दिरमा जनकपुरको लागि छुट्टै कोठा उपलब्ध गराउने सहमति भएको महन्थ दासले बताए ।
यसको लागि राम मन्दिर निर्माण समितिले एउटा शिला उपलब्ध गराउनको लागि जानकी मन्दिरलाई पत्राचार गरेको सुनाउँदै महन्थ दासले भने–नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेपछि शिलाको खोजी शुरु भएको थियो ।
कालीगण्डकी नदीमा देव शिला फेला परेपछि श्रीपञ्चमीको दिन उठाएर अयोध्याको लागि प्रस्थान गरिएको हो ।
त्रेता युगपछि पुनः भगवान श्रीराम र जानकीको प्रेरणाले कलयुगमा नवीकरण भएको महन्थ दासले बताए ।
विश्वको कयौ देशमा यस्तो शिला पाएपनि नेपालबाटै लग्नको लागि भगवान श्रीराम र जानकीले नै प्रेरित गरेको दावी उनले गरे । यसले कलयुगमा त्रेता युगको घटनाक्रमलाई नवीकरण गराएको महन्थ दासले बताए ।
भारतसितको आध्यात्मिक, धार्मिक संगै राजनीतिक सम्बन्धमा पनि प्रगाढ बनाउन यसले ठूलो भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
जानकी मन्दिरका महन्थ दास, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत श्रद्धालुले देव शिला लिएर अयोध्यातर्फ जाने कार्यक्रम रहेको छ ।
विशेष पूजामा मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्र, सभामुख रामचन्द्र मण्डल, नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, एमाले नेत्री जुलीकुमारी महतो, सुरक्षानिकायका प्रमुख लगायतको उपस्थिति थियो ।
‘नेपालको सौभाग्य’
भारतको अयोध्यामा लामो विवादपछि सर्वोच्च अदाललतको आदेशमा राममन्दिर निर्माण हुँदैछ । मार्च २०२० देखि निर्माण सुरु भएको मन्दिर आगामी सन् २०२४ जनवरीमा निर्माण गरिसक्ने लक्ष्य रहेकामा त्यसको मुख्य गर्भ मागमा राखिने भगवान्को रामको बालापनका नेपालको ढुङ्गाबाट निर्माण हुँदैछ । विश्वविख्यात अयोध्या नगरीमा बन्ने राममन्दिरमा नेपालको देव शिलाबाट निर्मित मूर्ति राख्ने कुरा अत्यन्त महत्वपूर्ण छ’ उत्तराधिकारी महन्थ रोशन दासले भने, यसले नेपाल र भारतको ऐतिहासिक सम्बन्धलाई दर्शाउने मात्रै छैन विश्वमै नेपालको गाथा पनि विस्तार हुनेछ, जुन हाम्रो लागि सौभाग्यको कुरा हो ।
नेपालबाट भारतमा देव शिला पठाउन मुख्य भूमिका निर्वाह गरेका नेता निधिले विश्वप्रसिद्ध राम मन्दिरमा नेपालको देव शिला राख्दा नेपालको धार्मिक महत्व मात्र नभई ऐतिहासिक र पौराणिक महत्वलाई पनि बल पु¥याएको बताए । उनले यस कार्यले नेपालमा धार्मिक पर्यटन वृद्धिका लागि कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे ।
अयोध्यामा ७० एकड जमिनमा तीन सय ६० फिट लामो, दुई सय ३५ फिट चौडा र एक सय ६१ फिट अग्लो मन्दिर बन्दैछ । मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा रहेको गर्भगृहमा कालीगण्डकी नदीबाट लागिएको २३ टन र १५ टनका शिलाबाट बनाइने भगवान् रामको बालापनको मूर्ति राखिने सहायक महन्थ दासले जानकारी दिए । देवशिलाको विभिन्न ठाउँमा पूजा र स्वागत गरिएको थियो । बाराको पथलैया, निजगढ, सर्लाहीको लालबन्दी, महोत्तरीको बर्दिबास र धनुषाको ढल्केवरमा देव शिलाको पूजा र स्वागत गरिएको थियो ।
गत बुधबार देव शिला काली गण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो देव शिला मन्दिरमा रुद्राभिशेकसहित विशेष पूजा गरी जनकपुरधाम हुँदै अयोध्याको लागि बिदाइ गरिएको थियो । म्याग्दीको बेनी ६ ठुलोपहिरोस्थित काली गण्डकी नदी किनारको देव शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो ।