जनकपुरधाम । कालीगण्डकी नदीको देव शिला शनिबार अबेर साँझ जनकपुरधाम आइपुगेको छ ।
हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनाउन देव शिला लैजान लागेको हो । माघ १२ गते कालीगण्डकी नदीबाट भारतको अयोध्याको लागि देव शिलासहित दुई वटा ट्रक प्रस्थान गरेको छ । शनिबार दिउँसो मात्रै दुवै ट्रक मधेश प्रदेशको बारा जिल्ला आइपुगेको हो । बाराको पथलैयामा प्रतिनिधिसभा सदस्य प्रदिप यादव, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायत साधुसन्तहरुले देव शिलाको दर्शन पूजा गरेका छन् ।
पथलैयाबाट देव शिलासहित साधुसन्तको टोली जनकपुरतर्पm प्रस्थान गरेका छन् । निजगढ, सर्लाहीको लालबन्दी, महोत्तरीको बर्दिबास, ढल्केवरमा देव शिलाको स्वागत तथा दर्शन पूजा गरिदै अबेर साँझ जनकपुर आइपुगेको हो । आइतबार बिहान देव शिलाको नगर परिक्रमासहित आरती, पूजा गरिने छ । देव शिला सोमबार अयोध्याको लागि प्रस्थान गर्ने छ ।
शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला मन्दिरमा रुद्राभिशेकसहित विशेष पुजा गरी जनकपुर हुँदै अयोध्याका लागि बिदाइ गरिएको थियो ।
म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । नगर प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस रामतपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको हो ।
रामको मूर्ति बन्ने शिलाको दर्शन गर्न सयौँ भक्तजन, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको भीड लागेको थियो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतिकस्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गरेका थिए ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको हो ।
हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राममन्दिर निर्माण समितिका सचिव पङ्कजको दावी छ । यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन, उनले भने, अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ ।
नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई जनकपुर पु¥याएर हस्तान्तरण गर्नेछ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने बताइएको छ ।
गत साउनमा भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अयोध्या राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गरेका थिए ।
भेटमा नेता निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए ।