वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले वीरगञ्ज महानगरपालिकालाई माइस्थानस्थित गहवामाई मन्दिर क्षेत्रमा सवारी प्रवेश तथा पार्किङ्मा रोक लगाएपछि कारण देखाउ आदेश जारी गरेको छ ।
वीरगञ्जको सौन्दर्यीकरणको नाममा महानगरले सार्वजनिक बाटो ब्लक गरी सर्वसाधारणको आवत जावत गर्न पाउनु पर्ने तथा अति आवश्यकीय काममा समेत बाधा पुर्याएपछि मारमा परेका स्थानीयहरूको तर्फबाट रेवती प्रसाद साहले वीरगञ्ज महानगरपालिकालाई बिपक्षी बनाई माईस्थान मन्दिरको बाटो खोल्न आदेश जारी गरी पाऊं भनि उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट निबेदन दर्ता गरेको थियो ।
सो क्षेत्रमा बाटो बन्द गर्ने र सवारी प्रवेश रोक लगाउनुको कारण १५ दिन भित्र लिखित पेश गर्न न्याधिश सुदर्शनदेव भट्टको इजलासले वीरगञ्ज महानगरपालिकाको नाउँमा आदेश जारी गरेको हो ।
निवेदकको तर्फबाट विद्वान अधिवक्ताद्वय सुधिर कुमार कर्ण र शैलेन्द्र कुमार चौरसियाको बहस पछि न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले निवेदन सम्बन्धमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? भन्दै आदेश जारी गरेका हुन् ।
माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाण सहित म्याद सूचना पाएका मितिले म्याद बाहेक १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नुहोला भनि आदेशमा भनिएको छ ।
सो आदेशमा भनिएको छ, निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा विचार गर्दा दुबै पक्षलाई राखी हुने छलफलबाट निष्कर्षमा पुग्न उपयुक्त हुने देखिदा सो प्रयोजनको लागि मिति २०७९÷१०÷१७ गते मंगलबारको पेशी तोकी सो को सूचना विपक्षीलाई दिई नियमानुसार पेश गर्नू भने उल्लेख छ ।